लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

झापा, ४ साउनः खुला सीमाका कारण झापामा लागुऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ ।
लागुऔषधको ओसारपसार, बिक्रीवितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागुऔषध भण्डारण गरिएको गोदाम फेला पारेको छ । त्यसलाई प्रहरीले अभियानको उपलब्धिका रुपमा हेरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५५९ जनालाई लागुऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको छ भने ३४६ मुद्दा दर्ता भएका छन् ।
बर्सेनि यस्तो सङ्ख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०/८१ मा ४६२ कारोबारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो सङ्ख्या १६ दशमलव पाँच प्रतिशतले बढेको छ । ‘की जेलमा की सुधार केन्द्रमा’ भन्ने प्रहरी अभियानको उद्देश्य छ । विगत एक वर्षमा जिल्लाको सीमावर्ती नाका, राजमार्ग र भित्री सडकमा जाँच गर्दा पक्राउ परेका १४० प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृहमा पु¥याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषधले व्यक्ति, परिवार, समाज र मुलुकलाई पुर्‍ याउने हानिबारेमा जनचेतनामूलक कार्यक्रममार्फत विद्यालय र समुदायमा जानकारी गराउँदै आएको छ । यसका लागि प्रहरी र समुदायबीच साझेदारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् ।
समुदायसँग मिलेर दुव्र्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयकै अभियान रहेको छ । त्यसअन्तर्गत ‘दुव्र्यसनविरुद्ध आमाहरु’ र ‘फाइट एगेस्न्ट नारकोटिक’ नामक अभियान प्रदेशमा जारी रहेको प्रहरीका सूचना अधिकारी खड्काको भनाइ छ ।
उहाँका अनुसार आव २०८१/८२ मा झापामा एक हजार ६५१ किलो गाँजा र दुई किलो ८८२ ग्राम ब्राउनसुगर बरामद भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये लागुऔषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा झापा चिनिएको छ ।
कोशी प्रदेशमा आव २०८१/८२ मा लागुऔषधविरुद्धको अभियानमा दुई हजार ३७ व्यक्तिमाथि कानुनी कारबाही भएको छ । यसैगरी २२ हजार किलो गाँजा र चार किलो ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्लाका मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबलमा लागुऔषधको कारोबार अधिक हुने गरेको छ । पूर्वी नाका भएकाले मेचीनगरको काँकडभिट्टामा प्रहरीले दिनहुँ लागुऔषधसहित कारोबारी र प्रयोगकर्ता पक्राउ गर्दै आएको छ ।
प्रहरी सीमावर्ती क्षेत्रको जाँचमा सक्रिय हुन थालेपछि कारोबारीहरुले विर्तामोडमा गोदाम नै खडा गरेर धन्धा चलाउन थालेको पाइएको छ । विर्तामोड नगरपालिका– ५ स्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागुऔषध र प्रतिबन्धित औषधि ठूलोमात्रामा भण्डारण गरेको पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो ।
औषधि पसलले नै लागुऔषधको भण्डारणका लागि गोदाम राखेको प्रहरीले फेला पारेको हो । स्थानीयले लागुऔषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले विर्तामोडमा ‘सनलाइट फर्मा’नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् ।
अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान छ । भारतसँग १४४ किलोमिटर लामो खुला सीमाना भएका झापामा लागुऔषधको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको हो । खुला सीमा र अनेक बहानामा भारतबाट लागुऔषध भित्र्याउने र कारोबार गर्ने गतिविधि बढ्दै गएको अवस्थाले नागरिक समाजसमेत चिन्तित पाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज