काठमाडौँ । देशभर व्यापक रूपमा फैलिएको भ्रष्टाचारको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलित बनेको छ। शुक्रबार राजधानीमा प्रदर्शनसहितको कार्यक्रम गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाउँदै सबैखाले भ्रष्टाचारको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गरिएको विरोध कार्यक्रमपछि अख्तियार प्रमुख आयुक्तलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा भ्रष्टाचार अब महामारीजस्तै फैलिएको र यसको मूल जरो नै राजनीतिक तह रहेको भन्दै राजनीतिक नेतृत्वलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “देशमा अहिले भ्रष्टाचार कहाँ छ भनेर खोज्नु पर्ने अवस्था छैन, बरु कहाँ छैन भनेर हेर्नुपर्ने अवस्था आएको छ। केन्द्र, प्रदेश र स्थानीय तहबीच नै भ्रष्टाचारका लागि प्रतिस्पर्धा देखिन्छ।”
राप्रपाले विगतका चर्चित काण्डहरू सुडान घोटाला, ललिता निवास प्रकरण, वाइडबडी विमान खरिद, ओम्नीमार्फत स्वास्थ्य सामग्री खरिद, एनसेल कर छलिजस्ता ठूला भ्रष्टाचार घटनामा प्रभावकारी अनुसन्धान नहुँदा अख्तियारको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठेको बताएको छ।
राप्रपाको ठहर छ, यस्तो प्रकारका ठूला भ्रष्टाचार कर्मचारी संयन्त्रबाट मात्र सम्भव हुँदैनन्। यसमा राजनीतिक तहको संरक्षण र संलग्नता स्पष्ट देखिन्छ। ज्ञापनपत्रमा भनिएको छ, “राजनीतिक नेतृत्वको छानबिनबिना भ्रष्टाचार निर्मूल हुन सक्दैन। त्यसैले राजनीतिक नेताहरूलाई पनि छानबिनको दायरामा ल्याउनु अपरिहार्य छ।”
राप्रपाले पछिल्लो समय सार्वजनिक भएका नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी, निर्माण सामग्रीको कृत्रिम अभाव तथा मूल्यवृद्धि, भिजिट भिसा दुरुपयोग र मन्त्रीहरूको अडियो काण्डले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै बदनाम बनाएको आरोप लगाएको छ।
राप्रपाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, मणिपाल मेडिकल कलेजको व्यवस्थापन, चिनियाँ विमान खरिद, कृषि अनुदान वितरणलगायत क्षेत्रमा व्यापक अनियमितता रहेको उल्लेख गर्दै यस्ता विषयमा छानबिन प्रक्रिया सुस्त रहेकोप्रति गम्भीर आपत्ति जनाएको छ।
पुराना र नयाँ सबै भ्रष्टाचार प्रकरणमा निष्पक्ष र व्यापक छानबिन गरियोस्, दोषीलाई कारबाही गरियोस् र राजनीतिक नेतृत्व उन्मुक्ति नपाओस्, ज्ञापनपत्रमार्फत राप्रपाले अख्तियारसँग माग गरेको छ ।
राप्रपाको भनाइमा अबको लडाइँ भ्रष्टाचारको विरुद्ध हो, र यसका लागि निष्पक्ष छानबिन र कडाइका साथ कारबाही अपरिहार्य छ।