काठमाडौ । प्रमाण पेश गर्न नसकेपछि आलमले पाए सफाई पाएको उच्च अदालको फैसलाको पूर्ण पाठमा उल्लेख छ । २०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन पूर्वमन्त्री एवं कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलमले घटाएमाको भनिएको बम विष्फोट र त्यसका घाइतेलाई जिउँदै इँटाभट्टामा लगेर पोलिएको भनिएको घटना नै नभएको निष्कर्ष उच्च अदालतले निकालेको छ।
उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालत, रौतहटको फैसला उल्टाउँदै उक्त घटना नै नभएको ठहर गरेको हो। घटना नै भएपछि कसैलाई शंकाका भरमा सजाय पनि गर्न नहुने उच्च अदालतले फैसलाको पूर्ण पाठमा भनेको छ।
गत जेठ १४ गते उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरेको छ।
जिल्ला अदालतले आलमसहित ४ जनालाई जन्मकैद हुने सजाय सुनाए पनि उच्च अदालतले उक्त घटना नै नभएको भनी आलमसहितलाई सफाइ दिएपछि दुवै न्यायाधीश न्याय परिषद्को छानबिनमा तानिएका छन्।
उच्च अदालतको फैसला खण्डमा गरिएको तथ्यहरूको विवेचना, कानुनको व्याख्या र न्यायाधीशको रायको मुख्य पाठ यसप्रकार छ ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका नेकपा माओवादीका सुरेन्द्र प्रसाद जयसवाल, नेकपा एमालेका शैलेन्द्र साह, मधेसी जनअधिकार फोरमका अब्दुल जवार, तराई मधेस लोकतान्त्रिक पार्टीका नागेन्द्र प्रसाद सिंह, स्वतन्त्र उम्मेदवार अफताब आलम, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनार, स्वतन्त्र उम्मेदवार असगर अलि खाँ, स्वतन्त्र उम्मेदवार सोहन प्रसाद गुप्ता, स्वतन्त्र उम्मेदवार मोहमद अवास, स्वतन्त्र उम्मेदवार राजेश कुमारले जिल्ला प्रहरी कार्यालय रौतहटमा मिति २०६४ चैत ३० मा हुलाकद्वारा संयुक्त पहिलो जाहेरी दरखास्त दर्ता गराएको देखिन्छ। सो जाहेरीमा नेपाली कांग्रेसका उम्मेदवार मो। अफताव आलमलाई मात्र विपक्षी बनाएको देखिन्छ।
सो जाहेरीमा मिति २०६४ चैत २७ गते साँझ ६स्३० बजेको समयमा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद अफताव आलमको घरमा बम विष्फोट भएको, सो घटनामा पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंह, ओसी अख्तर मिया लगायत दर्जनौँको मृत्यु भएको र निजको घर ध्वस्त भई भत्केको र त्यसमा मृत्यु भएका दर्जनौँ लासलाई घटनास्थल नजिकैको निजको आफन्तको इटा पकाइरहेको चिम्नीमा जलाई नष्ट गरेको हो। निज विपक्षीले निर्वाचन ९कसुर र सजाय० ऐन, २०६४ को दफा ४, ४९ख०, ७, ८, १० समेतको कसुर गरेको र संविधान सभा निर्वाचन आचार संहिता, २०६४ को दफा १३ समेतको उल्लंघन गरेकोले प्रचलित कानुन बमोजिम कारवाही गरी पाउन माग गरेको देखिन्छ। जिल्ला प्रहरी कार्यालयबाट उक्त जाहेरी दरखास्त सनाखत गराउन दरखास्तवालालाई खोजतलास गर्दा सबै जना काठमाडौँतर्फ गएको बुझिएको भनी मिति २०६५ वैशाख १० मा प्रतिवेदन पेस भएको देखिन्छ।
अब जाहेरवालाहरूले अदालतसमक्ष गरेको वकपत्रको विश्लेषण गर्दा, २०६४ चैत ३० मा सुरु जाहेरी दिने २०६४ सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका नेकपा माओवादीका सुरेन्द्र प्रसाद जयसवाल, नेकपा एमालेका शैलेन्द्र साह, मधेसी जनअधिकार फोरमका अब्दुल जवार, तमलोपाका नागेन्द्र प्रसाद सिंह, स्वतन्त्र उम्मेदवार अफताब आलम, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनार, स्वतन्त्र उम्मेदवार असगर अलि खाँ, स्वतन्त्र उम्मेदवार सोहन प्रसाद गुप्ता, स्वतन्त्र उम्मेदवार मोहमद अवास, स्वतन्त्र उम्मेदवार राजेश कुमारमध्ये स्वतन्त्र उम्मेदवार राजेश कुमार र स्वतन्त्र उम्मेदवार असगर अलिखाले २०७६ साउन २५ मा र नेकपा एमालेका उम्मेदवार रहेका शैलेन्द्र साहले २०७६ साउन २५ मा घटना विवरण कागज गरेको देखिन्छ। सो संयुक्त जाहेरी दरखास्तवाला मध्येका रामविनोद साह सोनार, अब्दुल जवार, नागेन्द्र प्रसाद सिंहले अदालतमा वादीको साक्षीको रुपमा उपस्थित भई वकपत्र गर्दा संयुक्त जाहेरी दरखास्तमा भएको सहीछाप र बेहोरा आफ्नो नरहेको, वारदात भएको भनिएको मिति २०६४ चैत २७ मा कुनै प्रकारको घटना नभएको भनी एकै मिलानको वकपत्र गरिदिएको देखिन्छ। सोही जाहेरी दरखास्तवालामध्येका सुरेन्द्र प्रसाद जयसवाल, अकताव आलम र सोहन प्रसाद गुप्ताले अदालतमा उपस्थित भई जाहेरी बेहोरा समर्थन नगरेको अवस्था छ।
जाहेरी दरखास्तवाला मध्येका २०७६ साउन २४ मा घटना विवरण कागज गर्ने असगर अलि खाँ र राजेश कुमारले अदालतमा उपस्थित भई वकपत्र नगरेको अवस्था छ। यसरी सो जाहेरी दरखास्तवाला ९ जनामध्येका ३ जनाले वारदात नभएको भनी जाहेरी दरखास्तविपरीत एकै मिलानको वकपत्र गरेका र ५ जना अदालतमा वकपत्रको लागि उपस्थित नभएकोले सो जाहेरी व्यहोरा विश्वासनीय प्रमाणको रूपमा ग्रहणयोग्य रहेको देखिएन।
तत्पश्चात् २०६५ वैशाख १८ मा नारायण सिंह राजपुत र रोक्साना खातुनको अलगअलग जाहेरी दरखास्त परेको देखिन्छ। जाहेरवाला नारायण सिंह राजपुतले दिएको जाहेरी दरखास्तमा विपक्षीहरूले आफ्नो छोरा त्रिलोक प्रताप सिंहलाई आफ्नो चुनाव प्रचारमा लिई गएको, अफताव आलमकै आफन्तको खपरावाला घरमा चैत २७ गते साँझ ६स्३० बजे बम विस्फोटन गरी छोरा घाइते भएको, इलाज गराउन घर जान्छु भन्दा पनि अपराधीहरूले सुरक्षा बलसमेतको सहयोग लिई घाइते छोरालाई इलाज गराउनुको सट्टा उल्टै गाउँको नजिकको इँटा पकाउने भट्टामा बाहिर रहेको दाउरा हाल्ने प्वालमा हाली जलाई लास बेपत्ता गरेको व्यहोरा उल्लेख गरेको देखिन्छ।
यसैगरी जाहेरवाला रोक्साना खातुनको जाहेरी दरखास्तमा २०६४ चैत २७ गते साँझ ६स्३० बजे अफताव आलम र महताव आलम समेतले भोलिपल्ट हुने संविधान सभा चुनावलाई आफ्नो पक्षमा पार्न निज अफताब आलमकै आफन्तको खपडावाला घरमा बम पडकाउँदा मेरो छोरा ओसी अख्तरलाई लागी घाइते बनाइदिएकोमा सो घाइते छोरा छट्पटाउँदा इलाज गराउनुको सट्टा रहस्यमय घटना खुलासा होला भनी अफताव आलमकै मतका व्यक्तिको इँटाभट्टामा जिउँदै छोरालाई हाली मारेको कुरा थाहा पाएको उल्लेख छ। त्यसपछि अफताव आलमको घरमा गई सोधपुछ गर्दा ‘तिम्रो छोरा मरिसक्यो, तिम्रो छोराको जुत्तासम्म शेख मोबिन आलमको जिम्मामा छ’ भनी भन्दा सो जुत्तासम्म फिर्ता दिएको, निज अपराधीहरूले सुरक्षाबल प्रशासन समेतको सहयोग र सक्रियतामा घटना र अपराधको दशी सबुद लोप पार्ने षड्यन्त्र रची मारी छोराको लाससम्म नदिएको वेहोराको जाहेरी दरखास्त दिएको देखिन्छ।
प्रहरीले पक्राउ गरी मुद्दा चलाउने क्रममा मोहम्मद अफ्ताब आलम
प्रहरीले पक्राउ गरी मुद्दा चलाउने क्रममा मोहम्मद अफ्ताब आलम
जाहेरवाला श्रीनारायण सिंह राजपुतको जाहेरी दरखास्तमा सो वारदातको बारेमा कसरी जानकारी प्राप्त हुन आएको हो खुलेको देखिँदैन। निजले सुरु अदालतमा वकपत्र गर्दा सो मितिको घटना आँखाले नदेखेको भनी उल्लेख गरेको देखिन्छ। जाहेरी व्यहोरामा सुरक्षाबल समेतको सहयोग लिई इँटा पकाउने भट्टामा दाउरा हाल्ने प्वालमा हाली लास बेपत्ता पारिएको भनी उल्लेख गरेको देखिन्छ।
सुरक्षा बलको सहयोग लिई लास बेपत्ता पारिएको भनिए तापनि अभियोगपत्रमा सुरक्षाकर्मीलाई प्रतिवादी नै बनाइएको देखिँदैन। जाहेरवाला प्रत्यक्षदर्शी नरहेको र वारदातको जानकारीको स्रोत नखुलेको तथा सुरक्षाबलको सहयोग लिई लास बेपत्ता पारिएको जाहेरी व्यहोरा विश्वसनीय देखिन आएन।
यसैगरी जाहेरवाला रोक्साना खातुनको जाहेरी दरखास्तमा सुरक्षाबल प्रशासनको सहयोग र सक्रियतामा ओसी अख्तरलाई इँटाभट्टाको इँटा पोल्ने प्वालको आगोको रापमा हाली जलाइएको बेहोरा उल्लेख गरेको देखिन्छ। सुरक्षाबल र प्रशासन समेतको सहयोग र सक्रियतामा मृतकलाई जलाएको भनिएकोमा कुन सुरक्षाबल र प्रशासनको सहयोग र सक्रियतामा सो कार्य भएको होरु अभियोग दाबीमा खुल्न नआएको ती व्यक्तिहरूलाई प्रतिवादी नबनाइएको समेतका आधारमा जाहेरी व्यहोरा विश्वसनीय देखिन आएन। निज जाहेरवालाको अदालतमा वकपत्र हुन नसकेको अवस्था पनि देखिन्छ।
मृतकको लास इँटाभट्टाको आगोमा हाली लास बेपत्ता पारिएको अभियोग दाबी देखिन्छ। आगोमा लास पोल्दा लासको मांसपेशी लगायतका कुरा जली वाष्पीकरण भई लोप हुन सक्छ तर लासको हड्डी खरानी ९अस्तु० मा परिणत हुन्छ। खारानीको फोरेन्सिक परीक्षणबाट मानव शरीर जलाई खरानीमा परिणत भएको कुरा पत्ता लाग्न सक्छ भन्ने कुरा चिकित्सकीय विधिशास्त्रको स्थापित मान्यता हो।
त्यसकारण मान्छे जलाई दसी लोप हुन सक्ने होइन, दसीको रूपसम्म परिवर्तन हुन सक्ने हो। खरानीको परीक्षण गरी मानव शरीर जलाइएको हो भन्ने कुरा पुष्टि गर्ने प्रमाणको भार वादीमा नै रहन्छ।
वारदात भएको दाबी गरिएको राजा इँटाभट्टामा २०६५ वैशाख १५ मा प्लास्टिकको सानो २ बोरामा प्रहरीले खरानी उठाई परीक्षणका लागि पठाएको देखिन्छ। सोको जाँच गर्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले दिएको २०६५ जेठ १३ को प्रतिवेदनमा ब्लड कुड नट बी डिटेक्टेड भन्ने राय आएको देखिन्छ।
यसका अतिरिक्त जिल्ला प्रहरी कार्यालय, रौतहटले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा २०६५ वैशाख २३ मा बम विस्फोट भएको भनिएको ठाउँको माटोको परीक्षण गरिदिन पठाइएको देखिन्छ।
सोको जवाफमा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले २०६५ जेठ २० मा विस्फोटक पदार्थ परीक्षण गर्ने सुविधा प्रयोगशालामा नरहेको भनी जवाफ पठाएको देखिन्छ। अर्थात् वादी दाबीको शेख इद्रिसको घरकोठा वा अफताब आलमको घरमा बम विष्फोट भएको भन्ने वादीले पुष्टि गर्न सकेको देखिएन।
जाहेरवाला श्रीनारायण सिंह राजपुतको अदालतसमक्ष बयान गर्दा आफ्नो छोरा त्रिलोक प्रताप सिंह उपर जिल्ला अदालतमा मुद्दा चलेको कुरा स्वीकार गरेको देखिन्छ। प्रतिवादीको तर्फबाट प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरूले रौतहट जिल्ला अदालतमा वादी नेपाल सरकार पिन्टु भन्ने त्रिलोक प्रताप सिंह प्रतिवादी रहेको मानव ओसारपसार मुद्दा २०६४ पुस ३ मा दायर भई अदालतबाट २०६५ पुस २० मा फैसला भएको र सो फैसलामा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह फरार प्रतिवादी रहेको भन्ने देखिन्छ।
राजा इँटाभट्टाका कामदारहरू २०६४ चैत २७ मा साँझदेखि रातिसम्म सो इँटाभट्टामा नै रहे बसेको भन्ने अनुसन्धानबाट देखिन्छ। ती सबै कामदारहरूले मृतक लास इँटाभट्टामा जलाइएको होइन भनी मौकामा र अदालतमा वकपत्र गरेको अवस्था छ।
लास इँटाभट्टामा जलाई नष्ट गर्नेजस्तो गम्भीर कसुरमा त्यहाँका कामदारहरूले सहमति दिएका होलान् भन्ने कुरा विवेकसंगत देखिएन। यदि सो कसुरमा सहमति जनाएको भन्ने वादी दाबी हो भने ती व्यक्तिहरू पनि कसुरदार हुने भई वादीले ती व्यक्तिहरूलाई पनि प्रतिवादी कायम गरी अभियोग लगाउनुपर्ने हो। ती व्यक्तिहरू मृतक लासलाई इँटाभट्टामा जलाउन सहमत रहेको अवस्थामा ती व्यक्तिहरूलाई प्रतिवादी कायम नगरी अभियोग दायर गरेबाट नै अभियोग दाबी विरोधाभासयुक्त रहेको देखिन आयो।
अब अनुसन्धानको क्रममा तयार गरिएको घटनास्थल मुचुल्का, बरामदी मुचुल्का र घटनाविवरण कागजको विवेचना गरौं।
अनुसन्धानकर्ताले २०६५ वैशाख १४ मा जाहेरी दरखास्तमा उल्लिखित शेख इद्रिसको गोठ घरको घटनास्थल मुचुल्का तयार गरेको देखिन्छ। सो मुचुल्कामा शेख इद्रिसको गोठ घरको ६ वटा कोठा रहेको देखिन्छ। सो मध्ये १ नं। कोठामा परालको भुस रहेको, भुसको भाग निकाली हेर्दा सामान्य रहेको देखिएको, सो घर पुरानो र नयाँ खपडाले छाएको अवस्थामा रहेको, घरको पूर्व–दक्षिणतर्फको छानामुनि पुरानो माकुराको जाल लागेको रहेको देखिएको छ।
२ नं। कोठामा प्रवेश गरी हेर्दा छानमुनि माकुराको जाल लागेको देखिएको, भुईँ जमिनमा गाईवस्तुको खानको लागि भुस राखेको अवस्थामा रहेको, ३ नं। कोठामा भुईँ जमिनमा खाना पकाउने दाउरा राखिएको र छानामुनि माकुराको जाल लागेको, ४ नं। कोठामा गाईवस्तु बाख्रा बाँध्ने गरेको स(साना किल्ला गाडिएको अवस्थामा रहेको, ५ नं। कोठामा भुईँ जमिनमा बालुवा रहेको र सो बालुवामाथि आलु रहेको, छानामुनि माकुराको जाल लागेको, ६ नं। कोठामा टयाक्टर गाडीको पुरानो पार्टपुर्जाहरू रहेको देखिएको र छानमुनि माकुराको जालो लागेको रहेको सो कोठाहरू अगाडि रहेको बरन्डामा धान राख्ने भकारी रहेको र छानामुनि माकुराको जाल लागेको देखिएको अवस्था मुचुल्काबाट देखिन्छ।
यसैगरी मुचुल्कामा प्रत्येक कोठाहरूमा रहेको चिजवस्तुहरू हटाई हेर्दा सामान्य अवस्थामा रहेको, सो कोठाहरूमा कुनै प्रकारको विष्फोटन नभई क्षति भएको जस्तो नदेखिएको, सो कोठाहरूमध्ये १, २, ३ र ४ कोठाहरूबाट भुईँ जमिन खनी छुट्टाछुट्टै माटो निकाली प्रहरीले आफ्नो साथमा लगेको भन्ने व्यहोरा लेखाएको देखिन्छ।
उच्च अदालतबाट सफाइ पाएपछि ललितपुरको नख्खु कारागारबाट छुट्ने क्रममा मोहम्मद अफ्ताब आलम
उच्च अदालतबाट सफाइ पाएपछि ललितपुरको नख्खु कारागारबाट छुट्ने क्रममा मोहम्मद अफ्ताब आलम
यसैगरी वारदात दाबीको राज इँटा उद्योग प्रालिको २०६५ वैशाख १५ मा तयार गरेको घटनास्थल मुचुल्कामा १५ दिनअगावै इँटा पकाएको खरानी रहेको, सो खरानीमध्येबाट प्लास्टिकको सानो २ बोरामा प्रहरीले खरानी उठाई लगेको, सो इँटाभट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण खुलाएको देखिन्छ।
यसैगरी जाहेरी दरखास्तमा मोहम्मद अफताब आलमको घरको २०६५ वैशाख १५ मा गरिएको घटनास्थल मुचुल्कामा सो घरको सबै कोठाहरू जाँच गर्दा ठीक दुरुस्त हालतमा रहेको, सो कोठाभित्र कुनै प्रकारको बम विष्फोटन नभएको देखिएको विवरण देखिन्छ।
अनुसन्धानको क्रममा २०६५ वैशाख २० मा तयार गरिएको घटनास्थल बरामदी मुचुल्कामा मोहम्मद अफताब आलम र मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलमको घरमा आपराधसँग प्रमाण लाग्ने दसीको कुनै सबुद फेला नपरेको भनी विवरण तयार गरेको देखिन्छ।
मृतक भनिएको ओसी अख्तरको स्वीटर, जुत्ता, मोजाहरूको परीक्षण प्रतिवेदनमा जाँच गर्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको २०६५ जेठ १३ को प्रतिवेदनमा रगत फेला नपरेको अवस्था छ।
राजा इँटा उद्योग प्रालिका प्रोपराइटर मो। एखलाल आलम सो उद्योगमा काम गर्ने मोजामिल आलम, शेष मलकार, आवास मिया, मोसुदिन मियाले अनुसन्धानको क्रममा गरेको कागजमा २०६५ चैत २७ मा इँटाभट्टामा काम गर्ने साहु तथा कामदारबाहेक अन्य कोही पनि नआएको, मृतक लास ल्याई इँटा पकाउनेमा जलाई नष्ट गरेको होइन भनी कागज गरेको देखिन्छ।
मृतक भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह रौतहट जिल्ला अदालतमा २०६५ पुस ३ मा चलेको मानव ओसारपसार मुद्दाको फरारी प्रतिवादी रहेको रौतहट जिल्ला अदालतको २०६५ पुस २० को फैसलाबाट देखिन्छ। आफ्नो पति मृतक भनिएका ओसी अख्तर मिया मजदुरको सिलसिलामा विदेश गएको भनी निजकी श्रीमती आमना खातुनले रौतहट जिल्ला अदालतमा २०७६ कात्तिकमा सत्यतथ्य खुलाई निवेदन दिएको देखिन्छ र सोही व्यहोराको अदालतमा वकपत्र गरेको देखिन्छ।
ओसी अख्तरका ससुरा समसुल मियाले २०६४ सालको निर्वाचनको तीन(चार दिनपछि ओसी अख्तर मिया र त्रिलोक प्रताप सिंहले आफूसँग सर्लाही जिल्लाको लालबन्दीमा भेट गरेको, त्यसपश्चात् मात्र घरबाट निस्केका हुन् भनी अदालतमा वकपत्र गरेको देखिन्छ।
मृतक भनिएका ओसी अख्तरका काका जाजुल मिया कवारीले २०६४ चैत २७ को कागज झुटा हो, बम विष्फोट भएको छैन, आफ्नो भतिजो मरेको भन्ने झुटा हो, मृतक भनिएका ओसी अख्तरले चुनावको तीन(चार दिनपछि सर्लाहीको लालबन्दीमा समसुल मियालाई भेटेको थिएँ, झुटा मुद्दा चलाउन वर्ष दिनपछि मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए, २०६५ वैशाख २८ मा आफूलाई जबरजस्ती कागज गराएका थिए भनी वकपत्र गरेको देखिन्छ।
मृतक भनिएका व्यक्तिहरूलाई इँटाभट्टाको आगोको भुंग्रोमा जलाएको भए सोको खरानीबाट मान्छे जलाएको फोरेन्सिक जाँचबाट पुष्टि गर्नुपर्नेमा सो पुष्टि हुन नसकेको अवस्था एकातिर छ भने बम विष्फोटनबाट घाइते भएको दाबी गरिएका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाको कपडा र जुत्तामा रगत फेला नपरेको अवस्था अर्कोतिर छ।
वादी नेपाल सरकारले तयार गरेको घटनास्थल मुचुल्कामा बम विष्फोट नभएको र इँटाभट्टामा मानिस जलाएको नदेखिएको र सो कुरा इँटाभट्टामा काम गर्ने व्यक्तिहरूको वकपत्रबाट पुष्टि भएको अवस्था छ।
सर्वोच्च अदालतको आदेश बमोजिम पुनः अनुसन्धान हुँदा २०७६ साउन २५ मा घटना विवरण कागज गर्ने शैलेन्द्र साह समेतका व्यक्तिहरूले ‘बम विष्फोटनबाट पूर्ण रुपले क्षति भएको शेख इद्रिसको गोठा घर यी सबै प्रतिवादीहरू भारतीय नागरिक आफन्तहरूको सहयोगमा सोही राती पुनः गोठ घर निर्माण गरी सो गोठ घरमा गाईवस्तुको लागि भुस राखी त्यसपछि अन्य पुराना घरहरूबाट माकुराको जालो ल्याई सो घरभित्र घरको छानामा जालो लगाई घटनास्थललाई कृत्रिम रुपमा परिवर्तन गरेका हुन्’ भनी कागज गरेको देखिन्छ।
माकुराको जालो अति संवेदनशील रहने, त्यसलाई उठाउँदा वा चलाउँदा नष्ट हुने र एक ठाउँबाट अर्को ठाउँमा लगी जालो लगाउन सम्भव छैन भन्ने सामान्य ज्ञानको विषय हो। घटना विवरण कागज गर्नेमध्येका शैलेन्द्र साहले अदालतमा उपस्थित भई वकपत्र गर्दा ‘माकुराको जालो एक घरबाट अर्को घरमा लगेर राख्न हुबहु सकिँदैन’ भनी खुलाएको पनि देखिन्छ।
बम विष्फोटनबाट क्षतिग्रस्त गोठघर पुनः निर्माण गरी भुस राख्न सकिएला तर पुरानो घरबाट माकुराको जालो ल्याई घरको छानोमा जालो लगाउन सकिन्छ भन्ने कुरा विश्वसनीय देखिन आएन। अनुसन्धानकर्ताबाट २०६५ वैशाख १४ मा तयार गरिएको घटनास्थल मुचुल्काको सत्यता र मौलिकता गोठघरको छानोमा लागेको माकुराको पुरानो जालोबाट पुष्टि हुन्छ।
अनुसन्धानको क्रममा संकलन गरिएको घटनास्थल मुचुल्का वारदातको धरातलीय प्रमाण मानिन्छ। यसको जगमा अन्य प्रमाणहरूको प्रामाणिक स्तर देखिन्छ। विष्फोट भएको भनिएको दाबीको गोठघरको अवस्था सामान्य रहेको, सो कोठाहरूमा कुनै प्रकारको विष्फोट नभई क्षति भएजस्तो नदेखिएको भनी घटनास्थल मुचुल्कामा नै उल्लेख भएको अवस्थामा तथा सो घटनास्थल मुचुल्कालाई झुटा सावित गरी सो गोठघरमा बम विष्फोटन भएको हो भनी पुष्टि हुने सोही स्तरको भरपर्दो र विश्वसनीय ठोस र वस्तुनिष्ठ प्रमाणको अभावमा अदालतले वादी दाबी बमोजिम सो गोठघरमा बम विष्फोट भएको हो भनी मान्न मिल्ने देखिएन।
सो गोठघरमा बम विष्फोट भएको हो भनी वादीले नै पुष्टि गर्नुपर्छ। सोको ठोस र वस्तुनिष्ठ प्रमाणको अभावमा वादी दाबी पुग्न सक्दैन।
सर्वोच्च अदालतबाट महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचलाउने गरी २०६९ जेठ १६ मा गरिएको निर्णयसम्म बदर गरी पुनः अनुसन्धान गर्न आदेश गरेको हो। अनुसन्धानबाट संकलित सबुत प्रमाण बदर गरेको अवस्था होइन। मौकाको घटनास्थल मुचुल्का मिसिलमा यथावत रहे भएकै देखिन्छ, जसमा प्रष्टसँग विष्फोटको घटना घटेको छैन भन्ने व्यहोरा उल्लेख रहेको छ।
शैलेन्द्र साह समेतले दिएको जाहेरी दरखास्तमा आलमको घरमा बम विष्फोट भएको थियो भनी उल्लेख गरेको देखिन्छ। आलमको घर र शेख इद्रिसको घर परस्परमा सँधियार नरहेको भन्ने वस्तुस्थिति मुचुल्काबाट देखिन्छ। बम विष्फोटनको दाबी गरिएको घर शेख इद्रिसको घर हो वा अफताव आलमको भन्ने अनुसन्धान स्पष्ट देखिएन।
अनुसन्धानको क्रममा अफताब आलमको घरमा समेत मिति २०६५ वैशाख १५ मा घटनास्थल मुचुल्का खडा गरेको देखिन्छ। सो घरमा बीचमा आगन भई चारैतिर ८ वटा कोठाहरू रहेको, कोठाहरू जाँच गर्दा बम पड्केको नभई ठीक दुरुस्त हालतमा रहेको, माथिल्लो तलामा प्रवेश गरी हेर्दा ८ वटा कोठा र २ वटा ट्वाइलेट रहेको, उक्त कोठाहरू जाँच गर्दा ठीक दुरुस्त हालतमा रहेको, कोठाभित्र कुनै प्रकारको बम विष्फोटन नभएको देखिएको भनी विवरण तयार गरेको देखिन्छ। यसरी यस घटना विवरण कागजबाट समेत बम विष्फोटको वारदात भएको भन्ने देखिएन।
बम विष्फोटनका घाइतेहरूलाई निज अफताब आलमको मतका व्यक्तिको राजा इँटाभट्टामा लगी चिम्नीमा हाली जलाई नष्ट गरिएको भनिएको राजा इँटाभट्टाको पनि मिति २०६५ वैशाख १५ मा घटनास्थल मुचुल्का खडा गरेको देखिन्छ। मुचुल्कामा सो इँटाभट्टामा १५ दिनअगावै इँटा पकाएको खरानी रहेको, प्लाष्टिकको सानो २ बोरामा प्रहरीले खरानी उठाई लगेको, सो इँटाभट्टादेखि दक्षिण र पश्चिममा लेबर बस्ने सानो फुसको छाप्रो रहेको, सो इँटाभट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण तयार गरेको देखिन्छ।
वादीले नै तयार गरेको घटनास्थल मुचुल्कामा सो इँटाभट्टामा मानिस जालएको नदेखिएको भनिरहेको अवस्थामा उक्त घटनास्थल मचुल्कालाई झुटा सावित गरी मानिस जलाइएको देखिने कुनै ठोस सबुद प्रमाणको अभावमा उक्त राजा इँटाभट्टामा मानिस जलाइएको हो भनी निष्कर्षमा पुग्न सक्ने देखिएन।
अनुसन्धानको क्रममा २०६५ वैशाख २० मा मोबिन आलमको घर, शेख भदैको घर, मो। अफताब आलम र मो। महताब आलमको घरको अलग अलग खानतलासी बरामदी मुचुल्का तयार गरेको देखिन्छ। ती सबै मुचुल्कामा “अपराधसँग प्रमाण लाग्ने दसीका सामान फेला नपरेको” भन्ने देखिन्छ। खानतालासी, बरामदी मुचुल्काबाट प्रतिवादीहरू उपरको अभियोग दाबी पुष्टि हुने देखिएन।
अनुसन्धानको क्रममा कागज गर्ने राजा इँटाभट्टाका मो। एकलाख आलम, मोजामिल आलम, शेष मलकार, आवास मिया, मोसुदिन मियाले २०६४ चैत २७ मा इँटाभट्टामा काम गर्ने साहु तथा कामदारबाहेक अन्य कोही पनि नआएको, लास ल्याई इँटा पकाउनेमा जलाई नष्ट गरेको होइन भनी एकै मिलानको कागज गरेको देखिन्छ। कागज गर्नेमध्येका मो। एकलाख आलम, मोजामिल आलम, आवास मियाले अदालतमा उपस्थित भई सोही व्यहोरा समर्थन गरेको देखिन्छ। उल्लिखित घटना विवरण कागज एवं वकपत्र वादीका विरुद्ध प्रमाणमा ग्रह्य हुन्छ। यसबाट राजा इँटाभट्टामा मृतक लास ल्याई जलाईएको अभियोग दाबी झुटा रहेको देखिन आयो।
घटना विवरण कागज गर्ने सराजुल मियाले घटना विवरण कागज गरेकोमा निज अदालतमा उपस्थित भई वकपत्र नगरेकाले प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा ग्रहण गर्न मिलेन। प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम तहकिकातको सिलसिलामा बुझिएका व्यक्तिहरू तथा खडा गरिएका मचुल्कामा बस्ने साक्षीहरूको अदालतमा सोधपुछ र जिरहको माध्यमबाट परीक्षण गर्नु आवश्यक हुन्छ। तब मात्र साक्षीले अनुसन्धानको सिलसिलामा भनेका कुराहरू विश्वासयोग्य हुन्छ।
अब सो जाहेरी दरखास्तवालामध्येका शैलेन्द्र साहको जाहेरी व्यहोरा एवं घटना विवरण कागजको विवेचना गरी हेर्दा, निजले २०६६ साउन २५ मा अनुसन्धान अधिकृतसमक्ष “मिति २०६४र१२र२७ गते बेलुका अन्दाजी १८स्३० बजेको समयमा म नेकपा एमाले पार्टीबाट २०६४ सालको संविधान सभाको चुनावमा उम्मेदवार थिएँ। प्रतिवादी मोहम्मद अफताब आलमलगायत हामी चुनावमा भाग लिएका थियौँ। चुनाव प्रचार प्रसारको सिलसिलामा घटनास्थल नजिकैमा आइपुग्दा बम विष्फोट भएको ठूलो धमाका आएकोमा मैले पनि घटनास्थलमा गई हेर्दा घटनास्थल शेख इद्रिसको गोठघर पूर्ण रुपले क्षति भएको, १५र१६ जना मानिसहरू शक्त घाइते भई उक्त घरको भुईँमा छटपटिरहेको र १र२ जना मानिसहरूको मृत्युसमेत भइसकेको थियो। कुनै घाइतेको आँखा, कान, टाउको थिएन त कोही कसैको हातखुट्टा थिएन। सो घटनामा मैले चिनेकोमध्ये ओसी अख्तर मियाँको बाँया हात थिएन। पिन्टु भन्ने त्रिलोक प्रताप सिंहको बाँया खुट्टा, दाँया हात, बाँयातर्फको कान थिएन। निजहरू समेतका सबै घाइतेहरू छटपटिरहेको देखेको हुँ। प्रतिवादी मोहम्मद अफताब आलम, शेख सराज, मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोबिन आलम समेतका प्रतिवादीहरूले तत्कालै घाइतेहरूलाई बोरामा राख्दै गरेको र म समेतका घटनास्थलमा रहेका मानिसहरूलाई यी प्रतिवादीहरूले गाली गलौज गरी गोली हानी मारिदिन्छौँ भनी विभिन्न प्रकारको धाकधम्की दिँदै हामीलाई सो ठाउँबाट भगाइदिएका हुन्। सो घटनामा परी घाइते भएका मानिसहरूलाई मैले आफ्नै आँखाले प्रत्यक्ष रुपमा देखेको हुँ। घाइते तथा मृतक समेतलाई मोहम्मद अफताब आलम, शेख सराज, मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोबिन आलम समेतका प्रतिवादीहरूले तत्कालै बोरामा राख्दै गरेको देखी प्रहरीलगायत सम्बन्धित सबैलाई खबर गरिदिएको हुँ। सबै घाइतेहरू तथा मृतकहरू समेतलाई प्रतिवादी मोहम्मद अफताब आलमले प्रयोग गर्ने गरेको ट्याक्टर गाडीको टेलरमा लोड गरी आफन्तको राजा इँटा उद्योग इँटा चिम्नी भट्टामा लगी घाइते समेतलाई अत्यन्त बर्बरतापूर्वक जिउँदै जलाएको हो। बम विष्फोटनबाट पूर्ण रुपले क्षति भएको शेख इद्रिसको गोठघर यी सबै प्रतिवादीहरू भारतीय नागरिक आफन्तहरूको सहयोगमा सोही राती पुनः गोठघर निर्माण गरी सो गोठघरमा गाईवस्तुको खानाको लागि भुस राखी त्यसपछि अन्य पुराना घरहरूबाट माकुराको जालो ल्याई सो घरभित्र घरको छानोमा जालो लगाई घटनास्थललाई कृत्रिम रुपमा परिवर्तन गरेका हुन्, जुन कुरा इन्सेकको सचित्र प्रतिवेदनवाट समेत पुष्टि हुन्छ। प्रतिवादी अफताब आलम तत्कालीन सत्ताधारी पार्टीको व्यक्ति भएको र निजकै सरकार रहेको कारण घटनालाई ढाकछोप गर्नको लागि सारा संयन्त्र परिचालन गरी उक्त मुद्दालाई ढाकछोप गरी दबाउने प्रयत्न अनुरुप रातारात घटनास्थल गोठघर परिवर्तन गरेको कुरा मैले प्रत्यक्ष रुपमा देखेको हुँ” भन्ने व्यहोराको कागज गरेको देखिन्छ।
निजले अफताब आलमको घरमा बम विष्फोट भएको भनी जाहेरी दिएकोमा घटना विवरण कागजमा शेख इद्रिसको घरमा बम विष्फोट भएको भनी फरक वेहोरा लेखाएको देखिन्छ। यसैगरी सुरु जाहेरीमा सो घटनामा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मिया लगायत दर्जनौँको मृत्यु भएको र त्यसमा मृत्यु भएका दर्जनौँ लासलाई इँटा पकाइरहेको चिम्नीमा लगी जलाई नष्ट गरेको भन्ने व्यहोरा लेखाएको देखिन्छ।
घटना विवरण कागज मा १५(१६ जना घाइते भएको, ओसी अख्तर र त्रिलोक प्रताप सिंह घाइते भई छटपटाइरहेको, घाइते भएकालाई प्रत्यक्ष आफ्नै आँखाले देखेको हुँ भनी लेखाएको र सो बेहोरा मिलान हुने गरी अदालतमा वकपत्र गरेको देखिन्छ। निजले भनेको वारदातमा मानिसहरूको मृत्यु भएको हो वा घाइते भएका हुन्रु भनाइमा एकरुपता नदेखिएको अवस्था छ।
बम विष्फोटका घाइतेहरूलाई आफूले प्रत्यक्ष देखेको भनी घटना विवरण कागज र अदालतमा वकपत्र गरेकोमा सुरु जाहेरीमा सो घटनाको आफू प्रत्यक्षदर्शी रहेको लेखाउन सकेको देखिएन।
२०६४ सालको निर्वाचनअघि स्मार्ट मोबाइलको प्रयोग सामान्य रहेको तथा निजले वकपत्रको सवाल जवाफ ५० मा आफूले फोनमार्फत विभिन्न सञ्चार माध्यमलाई खबर गरेको भनेकोमा निजले सो वारदातको फोटो खिची पेस गर्न सकेको देखिएन। निजले फोटो खिची पेस नगरेको अवस्था समेतबाट निजले प्रत्यक्ष देखेको भन्ने भनाइ विश्वासयोग्य देखिन आएन।
यसैगरी घटना विवरण कागजमा बम विष्फोटबाट पूर्णरुपले क्षति भएको गोठघर पुनः निर्माण गरी अन्य घरबाट माकुराको जालो ल्याई सो घरभित्र छानोमा जालो लगाएको भनी व्यहोरा लेखाएको देखिन्छ। क्षतिग्रस्त घर पुनः निर्माण गर्न सम्भव छ तर एउटा घरमा रहेको माकुराको जालो अर्को घरमा ल्याएर लगाउन सम्भव देखिँदैन। निजले वकपत्रमा आफैँ सो कुरा स्वीकार गरेको देखिन्छ।
निजले घटना विवरण कागजमा घटनास्थललाई कृत्रिम रुपमा परिवर्तन गरेको भनेकोमा अदालतमा गरेको वकपत्रको सवाफ जवाफ २० मा २०६५ वैशाख १४ गरेको घटनास्थल प्रकृति मुचुल्का सही रहेको अनुसन्धान अधिकारीले घटनालगत्तै संकलन गरेको प्रमाण साँचो हो भन्ने स्वीकार गरेको देखिन्छ। निजको वकपत्र र घटना विवरण कागज परस्परमा विरोधाभासयुक्त रहेको देखिन्छ।
यसैगरी त्रिलोक प्रताप सिंह र ओसी अख्तर घाइते भई हात, खुट्टा, पेटमा चोट लागी रगत बगेको भनेकोमा फोरेन्सिक रिपोर्टमा ती व्यक्तिहरूको कपडामा रगत फेला नपरेको भन्ने प्रतिवेदन मिसिल संलग्न छ।
साक्षीले अदालतमा वकपत्र गर्दा कुनै वारदातको प्रत्यक्षदर्शी हुँ भनी वारदातको विवरण खुलाएको भन्ने आधारमा मात्र निर्णायक प्रमाणको स्थान ग्रहण गर्न सक्दैन साक्षीको प्रत्यक्षदर्शी वस्तुपरक र यथार्थपरक देखिनुपर्छ र अन्य स्वतन्त्र प्रमाणले समर्थित हुनुपर्छ। सोको विश्वसनीयता परीक्षण गर्नुपर्छ। घटनाविवरण कागज र निजले अदालतमा गरेको वकपत्र तथा सुरु जाहेरी वेहोरामा एकरुपता नदेखिएको, वकपत्र परस्परमा विरोधाभासयुक्त रहेको र निजको साक्षी कथन अस्वाभाविक रहेकोमा सोको प्रमाणिक मूल्यमा ह्रास आउने नै हुन्छ।
वादीका साक्षी शैलेन्द्र साहसमेत २०६४ सालको संविधान सभाको निर्वाचनमा एउटै क्षेत्रबाट उम्मेदवार रही प्रतिवादी अफताब आलम विजयी भएको र निज शैलेन्द्र साह पराजित भएको मिसिलबाट देखिएको अवस्थामा निजको वकपत्रमा परस्परको राजनीतिक प्रतिद्वन्द्विता पनि मिसिएको छ कि भनी हेर्नुपर्छ। फोरमका अब्दुल जवार, तमलोपाका नागेन्द्र प्र। सिंह, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनारले अदालतमा वकपत्र गर्दा शैलेन्द्र साहले राजनीतिक प्रतिशोध साँध्न उजुरी दिएको खुलाएको देखिन्छ।
साक्षी शैलेन्द्र साह र प्रतिवादीबीचको पारस्परिक प्रतिद्वन्द्विता देखिएको अवस्थामा विरोधाभासयुक्त, परस्परमा एकरुपता समेत नभएको वकपत्रलाई विश्वसनीय र स्वतन्त्र प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन।
२०७६ सालमा घटनाविवरण कागज गर्नेमध्येका मेवालाल राय यादव, शिव साह कानु, रवि कुमार, सुनर राय, राम बहादुर साह, हरि नारायण साह, परीक्षण साह तेली, शंकर साह तेली र शैलेन्द्र साहले अदालतमा उपस्थित भई घटना विवरण कागज समर्थन गरेको भन्ने देखिन्छ भने सो मध्ये सफी अहमद, समसुल मिया, राजेश प्रसाद सहनी, उमाशंकर साह र लखिन्द्र पटेलले अदालतमा वकपत्र गर्दा घटना विवरण कागजविपरीत व्यहोराको वकपत्र गरेको देखिन्छ।
अब संकलित प्रमाणबाट बम विष्फोट लगायतका वारदात पुष्टि हुने हो वा होइन भन्नेतर्फ विचार गरौँ।
२०७६ असार १२ मा घटना विवरण कागज गर्नेमध्येका धरिछन साह तेली र रामसोगारथ यादव अदालतमा उपस्थित भई वकपत्र गरेको देखिएन।
असार २५ मा कागज गर्नेमध्येका उदयनारायण साह अदालतमा उपस्थित भई वकपत्र गरेको देखिएन। साउन ७ मा घटना विवरण कागज गर्ने विजेन्द्र साह र कमला देवी सिंह अदालतमा उपस्थित भई वकपत्र गरेको देखिएन।
कात्तिक ९ मा घटना विवरण कागज गर्नेमध्येका गेनालाल साह कानु अदालतमा उपस्थित भई वकपत्र गरेको देखिएन।
प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम तहकिकातको सिलसिलामा बुझिएका व्यक्तिहरू तथा खडा गरिएका मचुल्कामा बस्ने साक्षीहरूको अदालतमा सोधपुछ र जिरहको माध्यमबाट परीक्षण गर्नु आवश्यक हुन्छ। तब मात्र साक्षीले अनुसन्धानको सिलसिलामा भनेका कुराहरू विश्वासयोग्य हुन्छ।
घटना विवरण कागज गरेकोमा निज अदालतमा उपस्थित भई वकपत्र नगरेकाले प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा ग्रहण गर्न मिलेन।
२०७६ असार ११ देखि १५ सम्म विभिन्न मितिमा घटना विवरण कागज गर्नेमध्येका मेवालाल राय यादव, शिव साह कानु, रवि कुमार, सुनर राम र राम बहादुर साह, हरिनारायण साह, परीक्षण साह तेली, शंकर साह तेलीले र गौरीशंकर रामले अदालतमा उपस्थित भई घटना विवरण कागज समर्थन गरेको देखिन्छ।
हरिनारायण साहले २०७६ कात्तिक ९ मा अनुसन्धान अधिकृतसमक्ष कागज गरेको देखिन्छ। निजले अदालत समक्ष सोही बेहोराको वकपत्र गरेको देखिन्छ।
बम विष्फोट हुँदा घरमा आगो लागेको, घरको छाना उडेको, घरको वाल भत्केको २०६४ चैत २८ मा घरको निर्माण गरिएको हो भनी वकपत्र गरेकोमा निजले नै सोको फोटो छैन भनी भनेको पाइन्छ।
वकपत्रको सवाल जवाफ ४१ मा बमले आगो लागेको भनेकोमा सवाल जवाफ ५५ मा बम विष्फोटसम्म भएको हो, आगो लागेको थिएन भनी परस्परमा विरोधाभासपूर्ण वकपत्र गरेको पाइन्छ।
वकपत्रको क्रममा त्रिलोक प्रतापको बायाँ हात, बायाँ खुट्टा थिएन भनेको पाइन्छ, जुन कुरा अन्य साक्षीहरू शैलेन्द्र साहको वकपत्रभन्दा फरक देखिन्छ।
बाहिर पत्रकारहरू आएका थिए भनेकोमा पत्रकारले घाइते भनिएका व्यक्तिहरू लगायत वारदात स्थलको फोटो खिचेको र पेस गरेको देखिएन।
निजले वकपत्रमा जनताहरूलाई पुलिसद्वारा दमन गर्न लगाई घटनालाई ढाकछोप गर्न लगाएको भनेकोमा अपराध ढाकछोप गर्न पुलिससमेत प्रयोग गरेको कुरा विश्वसनीय देखिन आएन।
यसैगरी आफू वारदातको प्रत्यक्षदर्शी रहेको भनेकोमा मृतक भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंहको कपडाको रंग थाहा नभएको भनेको पाइन्छ। विष्फोट भएको भनिएको घरमा कोठा छुट्याइएको थिएन भनी वकपत्र गरेकोमा सो गोठघरमा ६ वटा कोठाहरू रहेको मिसिल प्रमाणबाट देखिन्छ।
निजले २०६४ चैत २७ मा भएको भनिएको वारदातको विषयमा २०७६ कात्तिक ९ मा मात्र कागज गरेकोमा १२ वर्षपछि मात्र जानकारी दिनुपर्ने कुनै युक्तियुक्त कारण पेस गर्न सकेको देखिएन।
डरत्रासको कारण प्रहरीलाई जानकारी नगराएको भनेकोमा कुनै पनि प्रतिवादीले धम्क्याएको थिएन भनी निजले नै भनेको पाइन्छ। यसरी निजको वकपत्र परस्परमा विरोधाभासयुक्त रहेको, तथ्यपरक पनि नरहेको समेतबाट निजको वकपत्र विश्वसनीय प्रमाणको रूपमा ग्रहणयोग्य रहेको देखिएन।
वादीका साक्षी मेवालाल राय यादवले २०७६ जेठ ११ मा घटना विवरण कागज गरेको देखिन्छ र सोही व्यहोरा समर्थन गरी अदालतसमक्ष वकपत्र गरेको देखिन्छ। निजले वकपत्रको सवाल जवाफ ६ मा वारदात आँखाले देखेको, त्यहाँ सुनर महरा, हरिनारायण साह तेली, परीक्षण साह तेली, राम बहादुर साह तेली रहेको भनी वकपत्र गरेकोमा सवाल जवाफ १५ मा २०६४ चैत २७ गते बेलुका ६स्३० बजे आफ्नै घरमा रहेको, त्यहाँ आफ्ना आफन्तहरूसँग बसेको भनी बोलेको पाइन्छ।
यसैगरी वकपत्रको सवाल जवाफ १७ मा जिल्ला प्रहरी कार्यालयबाट फोन गरी बोलाउँदा २०७६ असार १० मा मात्र बमकाण्डको बारेमा थाहा पाएको भनी भनेको पाइन्छ। मृतक भनिएका ओसी अख्तरको ठेगाना सर्लाही जिल्ला रहेको भनी वकपत्र गरेको कुरा तथ्यपरक रहेको देखिएन। यसरी निजको वकपत्र तथ्यपरक र वस्तुपरक रहेको नदेखिएको र परस्परमा विरोधाभासयुक्त्त रहेको देखिएकोले विश्वसनीय प्रमाणको रूपमा ग्रहणयोग्य रहेको देखिएन।
वादीका साक्षी परीक्षण साह तेलीले २०७६ असार ११ मा घटना विवरण कागज गरेको देखिन्छ र सोही व्यहोरा मिलान हुने गरी अदालतसमक्ष वकपत्र गरेको देखिन्छ। निजले पनि २०६४ चैत २७ गते बेलुका ६स्३० बजेको समयमा आफ्नै घरमा रहेको, घर घटनास्थल देखि २०० गज दूरीमा रहेको भनी वकपत्र गरेको देखिन्छ। निजले वारदातको प्रत्यक्षदर्शी रहेको भने तापनि वारदात भएको भनिएको मिति र समयमा २०० गज टाढा रहेको घरबाट सबै घटनाहरू देखेको कुरा विश्वसनीय देखिन आएन।
यसैगरी वादीका साक्षी राम बहादुर साह, शंकर साह तेली, शिव साह कानु, सुनर रामले वारदात भनिएको मिति र समयमा आफ्नो घरमा रहेको, भनेको वारदातको फोटोसमेत नरहेको समेतबाट निजहरूको वकपत्र विश्वसनीय र निर्णायक प्रमाणको रुपमा ग्राहयोग्य रहेको देखिएन।
वादीको साक्षीहरू मेवालाल राय यादव, शिव साह कानु, रवि कुमार, सुनर राम, राम बहादुर साह, हरि नारायण साह, परीक्षण साह तेली, शंकर साह तेलीले मिति २०६४ चैत २७ को वारदातको विषयमा २०७६ असारपछि मात्र घटना विवरण कागज गरेको देखिन्छ। यसरी १२ वर्षसम्म यति भयानक भनिएको वारदातको सूचना प्रहरीसमक्ष नदिनुको कुनै युक्तियुक्त कारण र आधार मिसिलबाट खुलेको देखिएन। यति भयानक भनिएको वारदात लुकेर टुलुटुलु हेरेको, सोको फोटोलगायत कुनै पनि दसी प्रमाण फेला नपरेको अवस्था छ।
यति भयानक वारदात भनिएकोमा छरछिमेकले प्रतिकार नगरेको भन्ने देखिन्छ। प्रहरी प्रशासनसमेत लगाई बम विष्फोटका घाइते र मृतकहरूलाई बोरामा हाली इँटाभट्टामा लगी जलाएको भन्ने कुरा आफैँमा विश्वसनीय देखिन आएन। कुनै वारदात भएपश्चात् पनि त्यस्तो वारदात गर्ने गराउने व्यक्तिका विरुद्ध पीडित पक्षबाट स्वाभाविक रुपमा किटानी अभिव्यक्ति आउनुपर्दछ। तब मात्र त्यस्तो अभिव्यक्तिलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन्छ।
जाहेरी व्यहोरा प्रमाणमा ग्राह्य हुनको लागि त्यसलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन आवयक देखिछ। सोका अलावा जाहेरी पनि युक्तियुक्त रूपमा विश्वसनीय देखिनु आफैँमा अपरिहार्य पनि हुन्छ। जाहेरी व्यहोरा यर्थाथपरक हुनको लागि महत्त्वपूर्ण तत्त्व भनेको सो जाहेरी वारदात भएको समयदेखि अनुचित विलम्ब गरी दायर गरेको हुनुहुँदैन।
अनुचित विलम्ब गरी दिइएको जाहेरी व्यहोरालाई प्रमाण मूल्यांकनको कसीमा खरो उत्रनको लागि अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन जरुरी हुने, कुनै वारदातको बारेमा वारदात हुनासाथ जाहेरी नदिई केही समयको विलम्ब गरी पछिबाट सोचविचार गरी किटान गरी दिएको ‘आफ्टरथट स्टेटमेन्ट’ जाहेरीलाई प्रमाण मूल्यांकनको रोहमा उच्च स्तरको प्रमाण मन्न मिल्ने देखिँदैन र यस्तो जाहेरी व्यहोरालाई प्रमाणित गर्ने गरी भएका वकपत्र व्यहोरा समेतलाई सोही बमोजिम हेर्नुपर्ने।
वारदातको वियषमा अनुसन्धान अधिकृतले २०६५ वैशाख १४ मा तयार गरेको घटनास्थल मुचुल्का, राजा इँटा उद्योग प्रालिमा वैशाख १५ मा गरेको घटनास्थल मुचुल्कामा वारदात घटेको होइन भनी मिसिलबाटै देखिन्छ। वैशाख २० मा तयार गरेको वरामदी मुचुल्कामा प्रमाण लाग्ने दसी केही पनि बरामद नभएको अवस्था छ।
इँटाभट्टाको खरानी र बरामद लुगाको परीक्षण प्रतिवेदनमा रगत फेला नपरेको भन्ने देखिन्छ। वादीका उल्लिखित साक्षीहरूको वकपत्रलाई प्रमाणको समग्रतामा हेरेमा मात्र सही निष्कर्ष आउन सक्छ। अनुसन्धानबाट संकलित समग्र प्रमाणबाट दाबीको वारदात घटेको छैन भन्ने निष्कर्ष आइरहेकोमा सोविपरीत उल्लिखित साक्षीहरूले १२ वर्षपछि मात्र वारदात भएको भनी गरेको वकपत्रको आधारमा मात्र अन्य ठोस सबुद प्रमाणको अभावमा निर्णायक प्रमाण मान्न मिल्ने देखिएन।
माथि गरिएको विवेचनाबमोजिम उल्लिखित दाबीका साक्षीहरूको वकपत्र परस्परमा विरोधाभासयुक्त रहेको, तथ्यपरक नदेखिएको समेतबाट पनि निर्णायक प्रमाणको स्थान ग्रहण गर्न सक्ने देखिएन।
यसैगरी २०६४ चैत २७ को वारदातलगत्तै घटना विवरण कागज गर्ने वादीका सबै साक्षीहरूले दाबीको वारदात घटेको छैन, मुद्दा झुटा हो भनी अदालतसमक्ष वकपत्र गरेको देखिन्छ। २०७६ असारपछि घटना विवरण कागज गर्ने वादीका साक्षीहरू जलिफ मिया अन्सारी, लखिन्दर राउत कुर्मी, शेख बलजाहिर, शेख अदुद, जलिफ मिया अन्सारी, लखिन्दर राउत कुर्मी समेतले प्रहरीले आफूलाई कुटेर कागजमा सही गराएको, घटना भएको छैन भनी अदालतसमक्ष वकपत्र गरेको पाइन्छ। उल्लिखित सबै प्रमाणहरूको समग्रतामा हेर्दा वादीका उल्लिखित साक्षीहरूको वकपत्रलाई एक मात्र निर्णायक प्रमाण मान्न सकिएन।
अब वादीका साक्षी सफी अहमदले २०७६ असार २८ मा घटना विवरण कागज गरेको र असोज ३० मा ज्यान मार्ने उद्योगमा जाहेरी दरखास्त दिएको देखिन्छ। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा निजको घाउ जाँज रिपोर्टअनुसार सफी अहमदको शरीरमा रहेको घाउखतको कारण के हो भन्ने यकिनसाथ भन्न नसकिने, यसको सम्भावित कारण ब्लास्ट इन्जुरी हुन सक्ने भन्ने देखिन्छ तर बम विष्फोटको घाउ भन्ने देखिँदैन।
सफी अहमदले अदालतसमक्ष वकपत्र गर्दा वारदात मितिमा आफू भारत पञ्जावमा रहेको आफ्नो पेटमा पत्थरी अपरेसनको खत रहेको, मिठा पकाउँदा पोखिएर पेटमा लागेको घाउको खत रहेको, सोबाहेक अन्य खत नरहेको भनी खुलाएको देखिन्छ। यसरी निजको पेटमा रहेको खत बम विष्फोटको खत रहेको भनी यकिनसाथ भन्न सकिने देखिएन। निजले आफूलाई प्रहरीले कुटपिट गरी प्रहरीले लेखेर राखेको जाहेरीमा सही गराएको भनी अदालत समक्ष वकपत्र गरेको देखिन्छ। यसरी निजले आफ्नो जाहेरी व्यहोरा प्रतिकूल र घटनाविवरण कागज प्रतिकूल वकपत्र गरेको अवस्था समेतबाट निजको शरीरमा रहेको खत बम विष्फोटको खत रहेको निष्कर्ष आउन सक्ने देखिएन।
जाहेरवाला गौरीशंकर राम चमारले २०७६ कात्तिक १३ मा जाहेरी दरखास्त दिएको देखिन्छ। निजको जाहेरी दरखास्तमा सो बम विष्फोटबाट घाइते भएकोमा आफू बच्नको लागि सो ठाउँबाट करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आइसकेपछि पूर्णरूपले बेहोस भई भुईँमा लडेको, त्यसपश्चात् १५(२० दिनपछि होसमा आउँदा भारत विहार राज्यको सीतामढीस्थित सदर अस्पतालको बेडमा रहेको भनी खुलाएको, यसैगरी निजलाई उपचारको लागि बद्री रामले ल्याएको भनी आफ्नो आमाले भनेको भनी खुलाएको देखिन्छ।
अदालतसमक्ष वकपत्र गर्दा बम विष्फोटको छर्राले कान, छातीमा समेत आगो लागेको ६(७ सय मिटर टाढा भागेर गई बेहोस अवस्थामा लडेको, मेरो खल्तीबाट बिस्तारै डायरी निकाली मेरो डायरीको नम्बरमा फोन गरी मेरो भाइको ससुरा आई भारतको सीतामढी अस्पतालमा लगी २०(२२ दिनपछि होस आउँदा आफू हस्पिटलमा रहेको थाहा भयो भनी बेहोरा खुलाएको देखिन्छ।
निजले बेहोसी अवस्थामा डायरी निकाली भाइको ससुरालाई फोन गरी निजले अस्पताल लगेको भनी जाहेरी दरखास्तभन्दा फरक बेहोरा उल्लेख गरेको देखिन्छ। बेहोस भई लडेको व्यक्ति २०(२२ दिनपछि मात्र होस खुलेको व्यक्तिले बेहोसी अवस्थामा भाइको ससुरालाई फोन गरेको कुरा विश्वासनीय देखिन आएन।
निजले उपचार गरेको भनिएको अस्पतालको कागजातको प्रेस्क्रिप्सनमा स्टोभ पड्की घाउखत लागेको भन्ने देखिँदा निजको शरीरको खत बम विष्फोटको खत रहेको कुरा झुटा सावित हुन्छ। वकपत्रको क्रममा आफू राजा इँटाभट्टामा काम गर्दथेँ, मुन्सीसँग पैसा माग्दा नदिएकोले अफताब आलमको घरमा पैसा माग्न गएको अवस्थामा बम विष्फोट भएको भनी भनेकोमा राजा इँटा उद्योगमा काम गर्ने एकलाख आलम, शेख नथुनी, शेख अदुद समेतले आफूले गौरीशंकर रामलाई नचिनेको, निजले भट्टामा काम नगरेको भनी वकपत्र गरेको पाइन्छ।
यसैगरी राजा इँटाभट्टामा काम गर्ने भनिएको व्यक्तिले अफताब आलमसँग पैसा माग्न जानुको तर्कसंगत कारण पनि खुलेको देखिएन। निजले आफू अफताब आलमको घरमा नगएको भनी विरोधाभासयुक्त वकपत्र गरेकोसमेत देखिन्छ। यसैगरी २०६४ चैत २७ को वारदात देखाई २०७६ कात्तिक १३ मा मात्र जाहेरी दरखास्त दिनुको कुनै युक्तियुक्त कारण खुलेको देखिएन।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को प्रतिवेदन मिसिल सामेल रहेकोमा सो प्रतिवेदनलाई प्रमाणमा लिन मिल्ने हो वा होइन भन्नेतर्फ विवेचना गर्नुपर्ने देखियो।
सर्वोच्च अदालतले नेपाल सरकार विरुद्व जीवन भन्ने जीवनाथ देवकोटा भएको मुद्दामा अधिकारप्राप्त अधिकारीबाट तयार भएका कागजातबाहेक कानुनी प्रक्रियाविपरीत तयार भएका कागजका आधारमा अभियोजन गर्न नमिल्ने भन्ने व्याख्या भएको छ। क्षेत्राधिकार उल्लंघन गरी संकलन गरिएका प्रमाणहरू प्रमाणमा ग्रहणयोग्य हुँदैनन्। अग्राह्य प्रमाणको अन्तरवस्तुमा प्रवेश गर्न मिल्दैन। इन्सेकको प्रतिवेदन तत्काल प्रचलित सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ का प्रावधानविपरीत रहेकोले यस मुद्दामा प्रमाणको वैधताको अभावमा विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन आएन।
कतिपय अवस्थामा परिस्थितिजन्य प्रमाणको आधारमा मात्रै पनि कसुरदार ठहर्याउनुपर्ने अवस्था सिर्जना हुने कुरामा यो इजलासको असहमति रहेको छैन। तर परिस्थितिजन्य प्रमाणलाई ग्रहण गरी कसुरदार ठहर गर्नुपर्दा प्रमाण कानुनका केही मूलभूत मान्यताहरूलाई भने आत्मसात् गर्नुपर्ने हुन्छ। भारतीय सर्वोच्च अदालतले परिस्थितिजन्य प्रमाणको आधारमा कसुरदार ठहर गर्नुपर्दा देहायका पूर्वसर्तहरू पूरा भएको हुनुपर्ने गरी परिस्थितिजन्य प्रमाण ग्रहण गर्नुपर्दाको आधारभूत मापदण्डहरूलाई अभ्यासमा ल्याएको पाइन्छ(
जुन परिस्थितिहरूको आधारमा कसुरदार ठहर गरिने हो ती परिस्थितिहरू पूर्णरूपमा स्थापित भएको हुनुपर्छ,
यसरी स्थापित तथ्यहरू कसुरदार हो भनी देखिने एउटै मात्र निष्कर्षलाई समर्थन गर्ने प्रकृतिको हुनुपर्छ। कसुरदार हो भनेर देखिनेबाहेकको अन्य सम्भावनालाई पनि समर्थन गर्दछ भने त्यस्तो अवस्थामा परिस्थितिजन्य प्रमाणलाई आधार मानिनु न्यायसङ्गत हुँदैन,
परिस्थितिहरू अकाट्य प्रकृतिको हुनुपर्छ,
प्रमाणित हुनुपर्ने तथ्यबाहेकका अरू सम्भावित तथ्यहरूलाई अमान्य तुल्याएको हुनुपर्छ,
परिस्थितिहरू अभियुक्त निर्दोष हो कि भन्नुपर्नेसम्मको अलिकति पनि मनासिब आधाररहित पूर्णतः मालाकार कडीमा जोडिएको हुनुपर्छ र सम्पूर्ण मानवीय सम्भावनाहरूलाई आधार मान्दा कसुर यिनै अभियुक्तले गरेको हो भनेर मान्नुपर्ने अवस्थाको हुनुपर्छ।
हाम्रो सर्वोच्च अदालतले पनि परिस्थितिजन्य प्रमाणलाई आधार मान्ने सम्बन्धमा धेरै मुद्दाहरूमा यस्तै मान्यतामा आधारित रहेर सिद्धान्त प्रतिपादन गरेको पाइन्छ।
ूसाक्षीका शङ्कास्पद कथन र अपुष्ट परिस्थितिजन्य प्रमाणलाई आधार मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन। परिस्थितिजन्य प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ जुन अनुमानबाट समर्थित हुने विषय होइन। के कस्तो परिस्थितिजन्य प्रमाण हो भन्ने कुरा स्पष्ट रूपमा खुलाउनुपर्छ, घटनासँग सम्बन्धित विभिन्न कडीहरू मालाकार रूपमा एक अर्कोसँग जोडिएको र त्यसबाट परिणामको स्वाभाविक निष्कर्ष आउनुपर्ने हुन्छ। प्रतिवादीको कुन कार्य कुन परिस्थिति र परिणामसँग आवद्ध छ भन्ने कुरा स्पष्ट रूपमा देखिनुपर्दछू भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ। अर्को एउटा मुद्दामा यस अदालतबाट “परिस्थितिजन्य प्रमाणको लागि तथ्यका प्रत्येक कडी एकआपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ। यसैगरी अर्को एउटा मुद्दामा “सङ्कलित वस्तुगत प्रमाणहरू, बुझिएका व्यक्तिहरूको भनाइ र वारदातको परिस्थितिजन्य प्रमाणहरू एक आपसमा बाझिएमा र आफैँमा शङ्कास्पद देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुन जाने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ। परिस्थितिजन्य प्रमाणलाई ग्रहण गरी कसुरदार ठहर गर्नुपर्दा प्रमाण कानुनका केही मूलभूत मान्यताहरूलाई आत्मसात् गर्नुपर्ने। प्रतिवादीको निर्दोषिता प्रमाणित हुन सक्ने वैकल्पिक निष्कर्षको सम्भावना छ भने त्यस्तो अवस्थामा केवल परिस्थितिजन्य प्रमाणलाई मात्र आधार बनाएर कसुरदार ठहर्याउन परिस्थितिजन्य प्रमाणको ग्राह्यताको सिद्धान्तविपरीत हुने।
परिस्थितजन्य प्रमाणको विश्लेषण गर्दा श्री नारायण सिंह राजपुतको जाहेरी दरखास्तमा प्रतिवादी शेख भदईले २०६४ चैत २० मा पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई चुनाव प्रचारमा लगेको भनी उल्लेख गरेको देखिन्छ। प्रतिवादीहरू त्यसतर्फ इन्कारी रहेको देखिन्छ। जाहेरवालाको जाहेरी कथनलाई नै मान्ने हो भने मिति २०६४ चैत २० देखि २७ गतेसम्म पिन्टु भन्ने त्रिलोक प्रताप सिंह प्रतिवादीहरूको नियन्त्रणमा रहेको कहीँकतैबाट पुष्टि हुँदैन। चुनाव प्रचारमा गाउँघरमा जहाँकहीँ स्वतन्त्र रुपले घुमफिर गर्न सक्ने नै हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह प्रतिवादीहरूको सँगसाथमा रहेको वा नियन्त्रणमा रहेको अर्थ गर्न मिल्दैन।
पिन्टु भन्ने त्रिलोक प्रताप सिंह २०६४ चैत २७ गते ६स्३० बजे वारदातस्थल भनिएको शेख इद्रिसको घरमा रहेको पुष्टि हुँदैन। वादी नेपाल सरकारले नै तयार गरेको घटनास्थल मुचुल्कामा बम विष्फोट नभएको उल्लेख भएको देखिन्छ। वादीका साक्षी शैलेन्द्र साह, हरिनारायण साहले आफूले पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई बम विष्फोटबाट घाइते अवस्थामा देखेको भने तापनि माथि बिभिन्न प्रकरणमा गरिएको विश्लेषण बमोजिम निज साक्षीहरूको वकपत्रलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न सकिने अवस्था छैन।
सोबाहेक वादी नेपाल सरकारले अन्य कुनै सबुद प्रमाण पेस गर्न सकेको छैन। यसैगरी घाइते पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई राजा इँटाभट्टामा जलाइएको भनिएकोमा सो भट्टाको खरानीको मिति २०६५ जेठ १३ मा गरिएको विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनमा सो मानिस जलाइएको पुष्टि हुन सकेको छैन तथा इँटाभट्टामा गरिएको वादीकै घटनास्थल प्रकृति मुचुल्काबाट समेत वादी दाबी पुष्टि हुन सकेको छैन।
यसरी दाबीको घटनासँग सम्बन्धित विभिन्न कडीहरू मालाकार रुपमा एक अर्कोसँग जोडिएको अवस्थाको विद्यमानता देखिन आएन। सथै यसबाट स्वाभाविक रुपमा प्रतिवादीहरू उपरको अभियोग स्थापित हुन आएन।
वारदातको विभिन्न परिस्थितिहरूबाट परिस्थितिजन्य प्रमाणको विश्लेषण गर्दा जहाँ दुईवटा निष्कर्षको सम्भाव्यता छ, एउटा अभियुक्तलाई दोषी देखाउँदै छ र अर्को निर्दोष देखाउँछ भने अभियुक्तलाई सुविधा हुने निष्कर्ष मान्नुपर्छ भन्ने प्रमाण कानुनको स्थापित नियम हो।
रोक्साना खातुनको जाहेरी दरखास्तमा ओसी अख्तरलाई २०६४ चैत २७ मा चुनावमा सहयोग गर्न भनी विपक्षीहरूले लगेको, सोही दिन ६स्३० बजे बम विष्फोटमा परी निज ओसी अख्तर घाइते भएको भनिएको छ तर माथि विवेचना गरिएबमोजिम घटनास्थल मुचुल्काबाट नै घटनाक्रमको कडी टुटेको देखिन्छ।
मिति २०६५ वैशाख ६ मा बरामद भएको ओसी अख्तरको जुत्ता, मोजा, सुइटरमा रगत फेला नपरेको भन्ने प्रयोगशाला प्रतिवेदनबाट देखिएकोले निज बम विष्फोटमा परी घाइते भएको दाबी पुष्टि हुन सकेन। यसरी मृतक भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मिया बम विष्फोटनमा परेको भन्ने कहीँ कतैबाट पुष्टि हुन सकेन।
सुरु जाहेरी दिने संविधान सभाका उम्मेदवारहरूमध्येका मधेसी जनअधिकार फोरमका उम्मेदवार अब्दुल जवार, तमलोपाका उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा र स्वतन्त्र उम्मेदवार रामविनोद साहले आफूले जाहेरी दरखास्त नदिएको, शैलेन्द्र साहले राजनीतिक प्रतिशोध साँध्न उजुरी दिएको भनी अदालतमा वकपत्र गरेको देखिन्छ। संविधानसभाका तत्कालीन उम्मेदवारहरूले नै बम विष्फोटन लगायत कुनै पनि वारदात भएको छैन भनी गरेको वकपत्र उच्चस्तरको प्रमाणको रुपमा ग्रहणयोग्य देखिन्छ।
पुनः अनुसन्धानको क्रममा २०७६ असारपछि कागज गर्नेमध्येका जलिफ मिया अन्सारी, लखिन्दर राउत कुर्मी, शेख बलजाहिरले घटना विवरण कागजमा प्रहरीले जबरजस्ती कुटपिट गरी सहीछाप गराएको भनी प्रतिकूल वकपत्र गरेको देखिन्छ। उक्त वकपत्र वादीका पक्षमा प्रमाण लाग्ने देखिएन।
अनुसन्धानको क्रममा २०६५ वैशाख २८ मा कागज गर्ने समसुल मिया र मृतक भनिएका ओसी अख्तरका श्रीमती आमना खातुनले वारदात भएको छैन भनी वकपत्र गरेको देखिन्छ। मृतक भनिएका ओसी अख्तरका काका जाजुल मिया कवारीले २०६४ चैत २७ को कागज झुटा हो, बम विष्फोट भएको छैन, आफ्नो भतिजो मरेको भन्ने झुटा हो, मृतक भनिएका ओसी अख्तरले चुनावको ३(४ दिनपछि सर्लाहीको लालबन्दीमा समसुल मियालाई भेटेका थिए, झुटा मुद्दा चलाउन वर्ष दिनपछि मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए, आफूलाई जबरजस्ती कागज गराएका थिए भनी वकपत्र गरेको देखिन्छ। उल्लिखित वादीका साक्षीहरूको वकपत्रबाट वादी दाबी पुष्टि हुन सकेन।
कुनै व्यक्तिको अवस्था अज्ञात हुनु र त्यस्ता व्यक्तिको हत्या हुनु अलगअलग कुरा हुन्। प्रतिवादीले कुनै व्यक्तिको हत्या गरेको हो भन्ने पुष्टि हुन सो कसुरको वारदात स्थापित हुनुपर्छ। कुनै व्यक्तिको स्थिति अज्ञात रहेको भन्ने आधारमा मात्र ज्यान मारेको कसुर स्थापित हुन सक्दैन। कसुरको वारदात स्थापित हुन सर्वप्रथम आपराधिक कार्य पुष्टि हुनुपर्छ।
माथि विभिन्न प्रकरणमा गरिएको विवेचनाबमोजिम शैलेन्द्र साह, हरिनारायण साह लगायतका वादीका साक्षीहरूको वकपत्र परस्परमा विरोधाभासयुक्त रहेको र वारदातको फोटोसमेत पेस हुन नसकेको समेतका आधारमा सर्वोत्तम प्रमाणको स्थान ग्रहण गर्न नसकेको अवस्था एकातिर छ।
अर्कोतिर, दाबीको वारदातलगत्तै वादी नेपाल सरकारबाट गरिएको अनुसन्धान हेर्दा २०६५ वैशाख १४ मा शेख इद्रिसको गोठघरको घटनास्थल मुचुल्का र वैशाख १५ मा दाबीको राजा इँटा उद्योग प्रालिमा गरिएको घटनास्थल मुचुल्कामा मानिस जलाएको नदेखिएको, सोही मितिमा राजा इँटा उद्योगबाट संकलन गरिएको खरानीको २०६५ जेठ १३ मा प्राप्त फरेन्सिक रिपोर्टमा पनि मानिस जलाएको नभेटिएको, बरामद भएको जुत्ता, मोजा, कपडामा पनि रगत फेला नपरेको अवस्था समेतको रोहमा हेर्दा शैलेन्द्र साह समेतका वादीका साक्षीको वकपत्रको आधारमा मात्र प्रतिवादीहरू उपरको कसुर स्थापित हुन सक्ने देखिएन।
फौजदारी मुद्दामा वादीले पहिले आपराधिक घटना भएको भन्ने तथ्य नै प्रमाणित र स्थापित गर्न सक्नुपर्दछ। आपराधिक घटनाको वारदात स्थापित भइसकेपछि मात्र अभियोग लगाइएको व्यक्तिले नै त्यस्तो अपराध गरेको हो भनी प्रमाणित गर्नुपर्दछ। कुनै पनि व्यक्तिलाई त्यसबेलासम्म दोषी करार गर्न सक्दैन, जबसम्म वादी दाबी अनुसारको आपराधिक वारदात भएको तथ्य स्थापित हुँदैन।
आपराधिक वारदात भएको तथ्य स्थापित हुनुपर्दछ भन्ने कुरा प्रमण सम्बन्धी नियमका साथै फौजदारी कानुनको आधारभूत व्यवस्था पनि हो। आपराधिक वारदात स्थापित नभएसम्म प्रतिवादीले अपराध गरेको भनी साबित भए पनि उक्त साबितीलाई प्रमाणको रूपमा स्वीकार गर्नुहुँदैन भन्ने नै प्रमाणको नियम हो। त्यसैगरी अभियोजन पक्षले आपराधिक घटनाको वारदात स्थापित नगरेसम्म कसैलाई कसुरदार बनाइनुहुँदैन भन्ने फौजदारी कानुनको आधारभूत नियम हो।
कुनै पनि व्यक्ति काल्पनिक वारदात वा अनुमानित वारदातको लागि दोषी ठहर्नुहुँदैन भन्ने फौजदारी न्यायको स्थापित मान्यतालाई हाम्रो फौजदारी विधिशास्त्रले स्वीकार गर्दै आएको छ।
प्रस्तुत मुद्दामा वादी दाबी अनुसारको वारदात भएको तथ्य स्थापित हुन नसकेको मात्र नभई कानुनी व्यवस्थातर्फ पनि अभियोजन पक्षको ध्यान पुग्न सकेको देखिँदैन। कमजोर अनुसन्धान तहकिकात, जाहेरी दरखास्त र जाहेरवालाको वकपत्रबाट विरोधाभास देखिएको तथ्यहरूको आधारमा गरिएको अभियोजन र आफूले लिएको दाबी स्थापित गराउन न्यूनतम प्रमाणसमेत प्रस्तुत गर्न नसकेको अवस्थामा शंका, अनुमान र अन्दाजको आधारमा गरिएको अभियोगदाबीको आधारमा कसैलाई कसुरदार ठहर्याउन न्यायोचित हुँदैन।
माथि गरिएको विवेचना बमोजिम रौतहट जिल्ला अदालतमा मानव ओसार पसार मुद्दाको फैसलाबाट पिन्टु भन्ने त्रिलोक प्रताप सिंह फरारी प्रतिवादी रहेको देखिन्छ। मृतक भनिएका ओसी अख्तर मियाका श्रीमती आमाना खातुनले दाबीको वारदातमा ओसी अख्तर नमरेको भनी वकपत्र गरेको, काका जाजुल मिया कवारीले दाबी वारदातमा भतिजो ओसी अख्तर नमरेको र ससुरा समसुल मियाले २०६४ को निर्वाचनको ३(४ दिनपछि निजलाई सर्लाहीको लालबन्दीमा भेटेको भनी गरेको वकपत्र समेतबाट उक्त कुरा थप पुष्टि भएको छ। यसरी हेर्दा मृतक भनिएका व्यक्तिहरूको अवस्था अज्ञात रहेको देखिन्छ।
अवस्था अज्ञात रहेको आधारमा मात्र ती व्यक्तिहरूलाई यिनै प्रतिवादीहरूले इँटाभट्टामा जलाई मारेको भनी अर्थ गर्नु फौजदारी न्यायको विधिशास्त्र अनुकूल हुन सक्दैन।
हरेक मानव केही अहरणीय जन्मसिद्ध मानव अधिकार बोकेर जन्मेका हुन्छन्। तीमध्ये एउटा हो, निर्दोषिताको अनुमान। नेपालको संविधानको धारा २० को उपधारा ९५० मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन। नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिमा पनि निर्दोषिताको अनुमानलाई प्रत्याभूत गरेको छ। यही मान्यताका आधारमा प्रमाण ऐन, २०३१ को दफा २५ मा “फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुनेछ” भनी व्यवस्था गरिएको छ। यसका लागि तत्काल प्रचलित सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ७, ८, ९, १०, ११, १२, १३ र १४ समेतका प्रावधानमा सम्बन्धित प्रहरीलाई अनुसन्धान, तहकिकात गर्ने अधिकार, कर्तव्य र सो को कार्यविधि समेत तोकेको पाइन्छ र हाल प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद(२, को प्रावधानमा सम्बन्धित प्रहरीलाई अनुसन्धान, तहकिकात र सोही संहिताको परिच्छेद(३ मा अभियोगपत्र दायर गर्ने व्यवस्था गरेको पाइन्छ।
यसैगरी संकलित सबुद प्रमाणको प्रमाण ऐन, २०३१ को विभिन्न दफाहरूमा न्यायिक परीक्षणको व्यवस्था गरिएको पाइन्छ। यावत् कानुनी व्यवस्थाबाट अभियोग लागेका हरेक व्यक्तिलाई स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्न खोजिएको छ।
उपर्युक्त व्यवस्थाको सार हो, निर्दोषलाई सजाय नहोस् र दोषी नउम्कोस्। यही मान्यतामा आधारित रही अदालतले न्यायको मान्य सिद्धान्त बमोजिम फौजदारी मुद्दामा वादी नेपाल सरकारले पेस गरेका प्रमाणहरूको न्यायिक परीक्षण गरी ग्रहणयोग्य प्रमाणहरूको आधारमा अभियोग दाबी पुग्ने वा नपुग्ने ठहर गर्दछ।
कुनै पनि अभियुक्तलाई दोषी नै हो भनी पूर्वाधारणा बनाउन मिल्दैन। अनुमान, शंका वा विश्वासको आधारमा कसैलाई पनि दोषी ठहर गर्न मिल्दैन। त्यसो गरेमा हरेक व्यक्तिका मानव अधिकार एवं स्वतन्त्रता खतरामा पर्न सक्ने जोखिमतर्फ अदालत सचेत रहन्छ। त्यसैले भनिन्छ, सयौं शंकाले पनि प्रमाणको रचना गर्न सक्दैन।
अभियुक्त उपरको कसुर प्रमाणले पुष्टि गर्नुपर्छ। अभियुक्त उपरको कसुर शंकारहित तवरले पुष्टि हुनुपर्छ। न्यायिक प्रकृयामा शंका र अनुमानले प्रमाणको हैसियत लिँदै छ कि भन्नेतर्फ सचेत रहन आवश्यक छ। प्रस्तुत मुद्दामा प्रतिवादीहरू उपरको अभियोग पुष्टि हुने प्रमाण पेस हुन सकेको देखिएन, बल्कि वादी नेपाल सरकारले अनुसन्धान गरी संकलन गरेका घटनास्थल मुचुल्काहरू, विधिविज्ञान प्रतिवेदन, वादीका सक्षीहरूले अदालतमा गरेका वकपत्रबाट वारदात पुष्टि हुन नसकेको अवस्था छ। यसरी मिसिल संलग्न प्रमाणबाट अभियोग दाबी पुष्टि हुन नसकी प्रतिवादीहरूले सफाइ पाउने देखियो।