न्याय अन्याय छुट्याउदा न्यायमा पर्न जाने खराबी वा गल्तीलाई रोकी न्याय सही ठाउँमा पार्न तथा न्यायको चक्षु जस्तै भएर न्यायको सही मार्ग देखाउने सच्चा सिपाहीको रूपमा प्रचिनकालदेखी नै विद्धान कानुन व्यवसायीकोे विकास न्यायको स्वतन्त्र रचनाकारको रूपमा भएको पाइन्छ । यसैले न्यायको रोहमा न्यायिक मूल्य मान्यता आचार एवं बिधिशास्त्रको सही व्याख्या विश्लेषण तर्क प्रस्तुत गर्ने विद्धान व्यक्तिलाई न्यायको आँखा हुन पनि भनिएको हो । हरेक बार एशोसिएशनको भवनको अगाडी दुइटा आँखाको मूर्ति कुदिनुको कारण पनि सायद कानुन व्यवसायीको यस्तै भूमिका भएर नै हुन सक्छ । यस कारण सिद्धान्त विधि वा दर्शनको वर्णन गर्ने कुरा मात्र होइन अनुसन्धानको माध्यमबाट विधि सिद्धान्त वा दर्शनको प्रयोग एवं रचनाको इतिहास बताउनु पनि आवश्यक भएको हो । यसैले कानुन व्यवसायी कुनै विचारधारा र गलत सामाजिक मान्यताको बन्दी हुदैनन । समाज सुधारक वा अभियन्त्रण Social engineering गर्ने साधक हुन्छ । कुनै कालखण्डमा कानुन व्यवसायीलाई साधु वा सभासद् ,ऋषि भन्नु पर्ने कारण पनि सायद यही थियो होला । यसैले विषयगत तथा कार्याबिधिगत विज्ञताका कारणबाट मात्र नभई न्यायको स्वतन्त्र सक्षम रूपले नवीनतम सृजना एवं आविष्कार गरी स्रष्टा तथा सर्जकको रूपमा स्वतन्त्र सक्षम निष्पक्ष एवं निर्भीक न्यायालयको अस्तित्व बताउन कानुन व्यवसायी संसारभर सफल भएका हुन न्यायपालिकालाई स्वतन्त्र भन्नु पर्ने कारण पनि कसैको आदेश स्वीकार नगरी यस्तै स्वतन्त्र चिन्तन गरी स्वतन्त्र न्यायका नवीनतम सृजना गर्ने कारण ले नै भएको हो । यसै कारणले संसारका अधिकांश उच्च एवं सर्वोच्च अदालतमा न्यायको नवीनता तथा सृजनशीलता उमार्न कानुन व्यवसायीको नियुक्ति अपरिहार्य मानिएको हो भने मानवअधिकारका रक्षक,स्वतन्त्र न्यायालयका सृजनाकार र सामाजिक न्यायका लागि समाजको अभियन्त्रण गर्ने Social engineering रूपमा संसारभर चिनिएका हुन । सदाचार,सद्गुण,सुसंस्कार पवित्रता शुद्धता निष्पक्षता स्वतन्त्रता,साहस,एवं सक्षमताको धरातलमा उभिएर न्यायको सृजनाकार वा आविष्कारका रूपमा अर्काको जीवन मर्यादा बचाउने पवित्र सेवा भावबाट प्रोरित देवदूतले गर्ने पेसाको रूपमा प्राचिनकाल देखी कानुन व्यवसायलाई लिएको पाइन्छ । त्यसबाट पाठ सिकेर भविष्यका पिँढीले पनि सच्चा सामाजिक अभियन्त्रण गर्ने Social engineering अभियन्ताको भूमिका निर्वाह गर्ने मार्गदर्शन प्राप्त गरुन् ।
निर्णय एकपक्षीय एवं पाशविक ढङ्गले होइन अर्को पक्षको कुरा पनि सुनी खुला पारदर्शी ,वैज्ञानिक पद्धतिको प्रयोग गरी तर्क सङ्गत तथा विधि सम्मत तरिकाबाट निर्णय गर्नु पर्दछ । न्याय एवं कानूनको आधार तर्क र विवेक हुन्छ तर्क चिकित्सा एवं विवेक चिकित्सा रहित व्यवस्थालाई न्यायशील एवं न्यायोचित व्यवस्था भन्न सकिँदैन भन्ने मान्यताको विकास भयो त्यहाँ देखि नै कानून व्यवसायको सुरुवात भएको मान्न सकिन्छ । तर कानून ,न्याय मानवअधिकारका विश्वव्यापी सर्व स्वीकृत मान्यताको सैद्धान्तिक विकास र विस्तार प्राचीन कालदेखि नै भएता पनि कानूनको विश्लेषण गरी तर्क र विवेकको प्रस्तुतिको माध्यमबाट न्याय स्थापना गर्ने परिपाटीको विकास कानूनमा पोख्त ,विज्ञ एवं समर्पित व्यक्तिहरूको कानूनको अनुसन्धान ,विश्लेषण, मस्यौदा, वकालत एवं तर्क अदृश्य र मौन रूपमा बाहेक व्यावसायिक रूपमा भने विकास भएको पाइँदैन ।
मानव सभ्यताको समग्र इतिहासको अवलोकन गरी हेर्दा कानून व्यवसाय एवं व्यवसायिक रूपमा धेरै पछि मात्र देखा परेको छ । राज्यको गठन संगसंगै उत्पत्ती भएको कानूनी व्यवस्था भन्दा पहिला न्यायका सर्वकालिन मूल्य मान्यता सघन रूपमा विकसित भएपनि व्यावसायिक रूपमा ति मूल्य मान्यता ,सिद्धान्त एवं दर्शनहरुको न्यायको रोहमा विश्लेषण एवं तर्क, प्रमाण, कानुनको प्रस्तुतिकरण गरी न्याय गर्ने प्रचलनको विकास भने धेरै पछि मात्र भएको देखिन्छ
। तापनि वैदिक एवं प्राचिनकालमा वेदग्य ,ऋषि ,विप्र, नियोगी,धम्म पाणिक मध्यम कालमा सभ्य, धर्माधिकार , प्राडविवाक, पण्डीत, सभासद् वा साधु ,प्रतिहार , दौवारिक ,धर्म प्रवक्ता र आधुनिक कालमा आएर मात्रै क्रमशः,बोकाहा ,वकिल ,कानुन विशेषज्ञ, तर्क चिकित्सक एवं कानुन व्यवसायी भनी सम्बोधन गरिएको पाइन्छ ।
वेदका वा धर्मशास्त्रका ज्ञाता भएकाले वेदग्य ,ज्ञानको तपस्या गरेका ज्ञानी वा ऋषि , विधिको विशेष ज्ञान प्राप्त उत्तम चरित्र भएको विप्र , धम्म पाणिक भनेको धर्म पालनाका सूत्रहरू लिपिबद्ध गर्ने सिपाही, शुक्र नीतिमा उल्लेख भएको नियोगी ,सम्पूर्ण मानवीय सभ्यता जानेको सज्जन सभ्य ,पक्ष विपक्ष सँग सोधी निष्पक्ष विवेक प्रयोग गर्ने भएकाले प्राडविवाक , वेदहरू,मीमांसक,व्याकरण एवं धर्मशास्त्रको ज्ञानमा पारङ्गत व्यक्ति पण्डीत ,धर्म अर्धमका कुरा गर्ने भएकोले धर्माधिकार र सभामा बसेर असल एवं हितयोग्य कुरा गर्ने भएकाले वकिललाई सभासद् वा साधु ,निवेदकको कुरा टिपी परमासनमा पेस गर्ने प्रतिहार ,शास्त्रको कुरा उल्लेख गरी राजा कहाँ जाहेर गर्नेलाई दौवारिक भनेर सम्बोधन गरेको पाइन्छ । यसरी प्रचिनकालमा वकिल धम्म पाणिकका रूपमा रहेका थिए अर्थात् न्यायका सिपाहीको रूपमा थिए ।
नेपालको कानुन प्रणाली प्रायः हिन्दु धर्मशास्त्रबाट प्रभावित भएकोले यसमा हिन्दु धर्मशास्त्र लगायत यसको आचार नीतिको प्रभाव पर्नु स्वाभाविक हो । हिन्दु धर्मशास्त्रको मान्यता अनुरुपनै वैदिक एवं प्राचिनकालमा वेदग्य एवं धर्मज्ञको रायलाई नै प्रमाणको रूपमा ग्रहण गरिन्थ्यो किनकि मनुस्मृति एवं यज्ञवाल्क्य स्मृति समेतका स्मृतिले पनि धर्म र न्यायको मूल ग्रन्थ वेदलाई नै मानेको पाइन्छ । “वेदो उखिलो धर्ममुलम स्मृतिशीले चतहिद्धामः । आचारश्यैव साधुनात्मनः रन्तुष्ट्रि रवेचनः ।। अर्थात् मनुले धर्मको स्रोतको रूपमा सम्पूर्ण वेद वेदक्यको परम्परा एवं व्यवहार सज्जन आचरणयुक्तहरूको आचार एवं आत्म सन्तुष्टिलाई लिएका छन् । यादि क्रोधाद् भयाले लोवादज्ञानाद् वा दिजोतमाः । योकनृतं भाषते सद्भ्य स यति नरकं धु्रवम्ः ।। अर्थात् जीविकाका लागि हुँदा नहुँदा पक्ष लिएर वादी प्रतिवादीबाट पैसा मात्र थुत्ने वादी प्रतिवादी र डिट्ठा विचारीका बिचमा मध्यस्थ भई घुस लिनु दिनु गराएर अन्याय गर्ने पक्षलाई जिताउन प्रयत्न गर्ने दुराचार सभासद् नरकमा पर्छ भनिएको छ ।
केवलंशास्त्रमाश्रृत्यं नकर्तव्यं हिः निर्णयः । युक्तिहीने विचारेतुधर्महानीः प्रजायतेः । अर्थात् वृहस्पतिले तर्कहीन विचार वा निर्णयले धर्मशास्त्रको हानी गर्छ भनेका छन् । मुद्दामा गरिने कुनै पनि निर्णय धर्मशास्त्रको आधारमा मात्र गरिने हैन कि तर्कसङ्गत विवेक सम्मत आधारमा पनि गर्नु पर्छ भनेका छन् । महाभारत कालिन युद्धमा अशोस्थामाको बारेमा सत्यवादी युधिष्ठिर सित जानकारी लिँदा सत्यवादी युधिष्ठिरले पनि “नरोवाः कुञ्जरोवा अशोस्थामा हतोहतः” भन्ने अस्पष्ट वाक्य बोल्दा युधिष्ठिर जस्ता सत्यवादीले पनि नरक देख्न परेको कुरा शास्त्रमा उल्लेख छ । न्याय सभासद् भएर इजलासमा न्याय सम्पादनमा सहयोगीको भूमिका निर्वाह गर्ने व्यक्तिहरूले आफ्नो कर्तव्य एवं गरिमा शास्त्रमा उल्लेख भए अनुसार पुरा गर्नुपर्ने नियम थियो । “नसाःसभा यत्र न सन्ती वृद्धाः वृद्धाः नतेयनःवदन्ती धर्ममः धर्मो नबई यत्र चोनास्ती सत्यम्, सत्यमनः तदयच्क्षल नानु विधमः” अर्थात् धर्म नपढेका अनुभवले खारिएका वृद्ध व्यक्तिहरू नभएको धर्मसभा वा न्याय सभा न्याय सभा नै होइन । त्यस्तो सभामा बसेर धर्म र सत्यको कुरा बोल्दैनन् भने ती वृद्धा सभासद् होइनन् । सत्य छैन भने त्यो धर्म होइन । छलकपटले नढाकिएको सत्य प्रायः सत्य हुँदैन भन्ने वाक्यांशले सभामा बसेर धर्म स्थापनाका लागी सत्य बोल्नु पर्ने कुरा हिन्दु धर्मशास्त्रले निर्देश गरेको छ । यज्ञवाल्यक्यले चत्वारो वेदधर्माज्ञाः वर्षत्त्रैविधमेव वा । सा ब्रेत यं स धर्मः स्याऽएकाः वाऽध्यात्मवित्तम आः ।। अर्थात् धर्मका कारक एवं हेतुमा जब सन्देह उत्पन्न हुन्छ । त्यस्तो अवस्थामा वेद एवं धर्मशास्त्र जानेकालाई सोधेर कार्य गर्न निर्देश गरेका छन् । वेद वेदान्त धर्मशास्त्रका ज्ञाताले जुन निर्णय दिन्छन् त्यो मान्य हुने बताएका छन् । सायद यसै कारण वर्तमान समयमा पनि भारतीय बार एशोसिएशनको भित्तामा धर्म स्थापनार्थायः भन्ने शब्द कुदिएको कारण पनि यही हुन सक्छ ।
यसरी हिन्दु धर्मशास्त्रमा कानुन व्यवसायी सम्बन्धी उल्लेखित व्यवस्था प्रचिनकाल देखी नै भएको र उक्त कानुन व्यवसायी राजाद्वारा छानिएर नियुक्त विद्धान विशेषज्ञ सल्लाहकारको रूपमा न्यायासनमा उपस्थित भएर न्यायमा पर्न सक्ने गल्तीलाई रोक्न आफ्नो दृष्टिकोण व्यक्त गर्न पाउँथे । यसरी धर्म अधर्म छुट्याउदा धर्मशास्त्रको गलत व्याख्या हुनबाट बचाउन धर्मको सही कुरा पत्ता लगाएर धर्म अर्धमको चुरो कुरोको गहिराइमा पुग्न धर्मशास्त्रको सही व्याख्याको लागि वेदग्यको राय लिइन्थ्यो भन्ने कुरा प्रस्ट हुन्छ । ऋग्वैदिक कालमा अनेक ऋषि महिर्षीहरुले कठोर तपस्याको बलबाट वैदिक ज्ञानलाई स्वयम साक्षात्कार गरी सत्यको खोजीका लागि पुस्तौँ उत्सर्ग गरेका छन् । यसको कारण न्यायको पूर्णत्वका लागि विद्धानहरूको राय न्यायको रोहमा अनिवार्य एवं अकाट्य हुन गएको हो ।
विवादास्पद कुरा वा मुद्दामा नियुक्त नभएका कसैले पनि कुनै कुरा बोल्नु हुँदैन । नियुक्त भएकाले बोल्नुपर्दा कुनै पनि पक्ष तिर नलागी नझुकी ठिक ठिक कुरा मात्र बोल्नु पर्छ । राजाद्वारा अदालतमा सल्लाहकारको रूपमा नियुक्त भएका व्यक्तिको काम, कर्तव्य तथा नियुक्त नगरिएको तर आफ्नो राय मात्र व्यक्त गर्ने कानुन विशेषज्ञको रायमा भने भिन्नता पाइन्छ । न्यायाशनमा सल्लाहकारको रूपमा नियुक्त गरिएकोलाई वर्तमान सरकारी वकिल को रूपमा लिन सकिन्छभने पछिल्लोलाई आधुनिक अर्थमा अदालतको सहयोगी (Amicus Curiae) को रूपमा लिन सकिन्छ । यसरी अदालती काम कारबाही वा निर्णय गैर कानुनी हुन लाग्यो भने त्यसलाई रोक्न न्यायालय समक्ष आपत्ति उठाउन पाइने गरिएको थियो ।