बार अध्यक्ष मिश्रको अभिव्यक्ति : के साँच्चै सर्वोच्च अदालतभित्र दुईवटा अदालत छन् त?

नेपाल बार एसोसिएसनका नव निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले सर्वोच्च अदालतभित्र दुईवटा अदालत रहेको अभिव्यक्ति दिनुभयो। अध्यक्ष मिश्रको अभिव्यक्तिलाई मुद्दालाई कानुनको उचित प्रक्रियाबाट फैसला वा अन्त्य गर्ने भन्दा भिन्न रूपमा, न्यायलाई व्यक्ति केन्द्रित बनाउने, पदासीनले अधिकारको प्रयोगबाट निकाल्ने उल्झन समस्या देखाउने र आफूलाई अझै केन्द्रीकृत पार्ने नीति वा यसलाई न्यायको सहज मार्ग देखाउनबाट गरिएको आनाकानी व्यक्ति केन्द्रित न्यायको पाखण्ड भन्ने जस्ता विभिन्न अर्थमा बुझ्न सकिन्छ। यो मुद्दा दर्ता गर्दाको प्रक्रियाबाट सुरु हुने व्यक्ति केन्द्रित शक्ति देखाउने खेल हो। तिललाई पहाड बनाएर व्यक्ति केन्द्रित आदर्शको अनुभूति गराउने ठाउँ हो। पदको शक्तिले चलाखीको परिबन्धमा पार्ने र आफ्नो पदीय अहंकारको प्रदर्शन हो। दर्ता हुनु नपर्ने मुद्दा दर्ता गरेर वा दर्ता हुनु पर्ने मुद्दा पनि विभिन्न चलखेलले दर्ता नगराएर न्यायको ढोका नै बन्द गर्ने गरी गरिएको शक्तिको लडाइँ, झुटा ज्ञानको प्रतिफल वा जुँगाको लडाइँ भन्दा फरक नपर्ला।

यस कारण एउटा सर्वोच्च अदालतले सामान्यतः कानुनको उचित प्रक्रियाको माध्यमले मुद्दाको टुङ्गो लगाउँछ भने अर्कोले व्यक्ति केन्द्रित भएर चलाखीको माध्यमले पद, अधिकार र शक्ति प्रयोग गरी मुद्दालाई पदाधिकार शक्तिको आडमा व्यक्ति केन्द्रित पार्ने छल गरेर मुद्दामा खेल गर्छ। यहीं नै सर्वोच्च अदालतभित्र दुईवटा अदालतको अनुभूति सेवाग्राही तथा अदालतका नियमित प्रयोगकर्तालाई हुने गर्दछ, र त्यसको प्रतिनिधित्वको आवाज नेपाल बार एसोसिएसनका नव निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले दिएका देखिन्छ।

अदालत भनेको यस्तो ठाउँ हो, जहाँ आएका मुद्दामा कानुनी एवं संवैधानिक उपचार मात्र होइन, मुद्दा पर्नुका कारणको जराको वा मुद्दाको खुद तत्वको खोजी गरी त्यसको पूर्ण समाधान गरी समाजलाई मानवीय सभ्यतामा टिकाउने मार्गदर्शन गराउने अति संवेदनशील ठाउँ पनि हो। यसैले अदालतलाई मानव सभ्यताको प्रथम सूचकको रूपमा वा राज्यको तेस्रो आँखाको रूपमा आदर गरिन्छ। किनकि यसले कानुनी एवं संवैधानिक उपचार दिनु भन्दा पहिला आचरण र व्यवहारबाट न्याय निरूपण गराउने सत्मार्ग दिन्छ भनिएको पाइन्छ। सायद यसै कारणले अदालतलाई कानुनी एवं संवैधानिक उपचारभन्दा पर गएर पनि आफ्नो न्यायिक शक्तिको प्रयोग गरी, “जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि” भनेजस्तै, दबाइएका वा उसको सूचनामा आएका न्यायको सम्बोधन गर्नुपर्ने कुरामा आफैँ अग्रसर भएर वा कार्यपालिका वा व्यवस्थापिका निष्क्रिय भएको ठाउँमा पनि सक्रिय निर्णय गर्ने संवैधानिक अधिकार दिइएको हुन्छ।

यस्तो अधिकार दिनुको कारण सामाजिक न्यायप्रति अदालतका जनशक्ति राज्यका अरू निकायमा काम गर्ने जनशक्तिभन्दा फरक क्षमता, फरक समर्पण, फरक त्याग, फरक तपस्या, फरक शुद्धता, फरक निष्पक्षता भएको मानिएको हुन्छ। अदालतको यस्तो विभिन्नताको श्रृङ्खला अदालतमा काम गर्ने कार्यालय सहयोगीदेखि लिएर प्रधानन्यायाधीशसम्म हुन्छ। यद्यपि उनीहरूको कानुनी एवं संवैधानिक अधिकारमा केही फरकपन हुन्छ, तर उनीहरूले गर्ने कानुनी एवं संवैधानिक अधिकारको अलावा देखाउने व्यवहार, आचरण एवं नियतले पनि न्यायमा ठूलो असर पर्ने गर्छ। तर त्यो कुरा सहज रूपमा पत्ता लाग्दैन। भाग्यवादी सोच, सामन्ती संस्कृति, पदलाई शक्ति मान्ने समाजमा पदीय दुर्व्यवहारलाई आम जनताले नबुझ्न पनि सक्छन्। तर “पक्ष लाटो भए पनि वकिल लाटो हुँदैन” भन्ने लोकोक्ति रहेको र कानुन व्यवसायीलाई समाजको अभियन्त्रण गर्ने वर्ग भनिएकोले, यस्तो सामाजिक न्यायविरोधी विकृतिलाई उजागर गर्नु आफ्नो कर्तव्य सम्झिएर अदालती विकृतिलाई बाहिर ल्याउनु आवश्यक भएको हो। सायद मुस्कानसहितको न्याय सेवाको अवधारणा ल्याउने सद्संकल्प यसै कारणले गरिएको हुन सक्छ।

अतः अदालत पदीय शक्ति प्रदर्शन गर्ने ठाउँ नभएर सुस्वरता वा सर्वोत्कृष्ट मानवीय सभ्यतालाई समाजमा प्रतिस्थापन गरी शान्तिको बाटोबाट न्यायको धरातल उँचो गर्ने ठाउँ भएकाले, यहाँ हुने पदीय शक्तिको चलाखी, छट्टुपन, पाखण्डीपन, सनकपन बन्द गरी न्यायको सुमार्गलाई एकनासले बग्ने अविरल हिमगङ्गाजस्तो पवित्र बनाउनु आवश्यक छ। जहाँ गएर सबैले आफ्नो अपराध मात्र होइन, कुकर्म, दुष्चिन्तन, पाप, असक्षमता, अवगुण, असभ्यता पनि पखाल्ने मौका पाउन। पदीय शक्तिको आधारमा विभिन्न उल्झन ल्याएर अड्काउने काम बन्द होस्। अझ धनको लोलुपतामा ध्यान दिने जनशक्तिलाई अदालतमा धनको लोलुपताले न्यायमा असर पार्ने प्रभावबारे तालिम, छलफल, संगोष्ठी, शाश्वत ज्ञान प्रदान गरी न्यायका लागि समर्पित रहने जनशक्ति निर्माण होस्। न्यायको सुस्वरता एकनासले बगिरहोस्। सबैको ध्येय आफ्नो अधिकारको पाखण्ड देखाउनेतिर होइन, पवित्र, सृजनशील, विवेकी अदालती जनशक्तिको निर्माणतर्फ होस् — यो नै अदालती कर्तव्यको साझा रोडम्याप हो।

धन एवं पदीय अधिकारको दुरुपयोगबाट नै अदालतमा प्रायः मुद्दा आएका हुन्छन्। अदालतबाट विभिन्न समयमा अधिकारको प्रयोग विवेकपूर्ण ढङ्गले हुनु पर्छ भन्ने सिद्धान्त प्रतिपादन भएका छन्। त्यसैले पदको पाखण्डबाट कसैलाई मानसिक हिंसा, धनको लोलुपता वा न्यायको बाटो अड्काउने जस्ता काम बन्द गरिनु पर्दछ। यस्तो जनशक्तिले अदालतलाई कहिल्यै पनि उच्च स्थानमा राख्न सक्दैन। जति हामीले अदालतलाई पवित्र बनाउन सक्यौँ, साँच्चिकै न्यायको मन्दिर बनाउन सक्यौँ, त्यति अदालतले पनि हामीलाई मर्यादा र स्वाभिमान दिन्छ। अदालत मर्यादायुक्त भएमा मात्र हामी मर्यादित हुनेछौँ। अदालतको मर्यादालाई आफ्नो व्यक्ति प्रधानतामा लैजानु दुर्घटनाको बाटो हो।

यसैले भनिएको छ – “ज्ञानको झुटो अभिमानले कुनै गन्तव्य तिर पुर्‍याउन सक्दैन।” झुटा ज्ञानले झुटो बुझाइको जन्म हुन्छ। झुटो बुझाइको कारण झुटा व्यवहार एवं संस्कारको जन्म हुन्छ। झुटा व्यवहारले झुटा संस्कार-चलनको सामाजिक स्तरीकरण हुन्छ। अनि झुटा संस्कार-चलनको स्तरीकरणभित्र विभिन्न प्रकारका शक्ति संघर्ष, प्रतिसोध, अहंकार, हीनताबोध एवं अनन्य प्रकारका अन्याय, शोषण भइरहेको कुरा सजिलै कसैले थाहा पाउन सक्दैन। यो नै दुःख, शोषण, दमन, सनक, कपट एवं स्वार्थको अवस्था हो।

सम्बन्धित समाचार

ताजा न्यूज