काठमाडौँ । नेकपा एमालेका पूर्व संविधान सभा सदस्य कर्णबहादुर मल्ल जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले शनिबार ललितपुर महानगरपालिका–१५ बाट नियन्त्रणमा लिएको हो ।
मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ मा बस्दै आएका मल्लविरुद्ध एक महिलाले बलात्कारको उजुरी दिएकी थिइन् । पीडित महिलाले गत फागुन ५ गते नै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । ती महिलाले न्यायको माग गर्दै केही समयअघि माइतीघर मण्डलामा अनशन समेत बसेकी थिइन् । सोही उजुरी र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मल्ललाई शनिबार फेला पारी पक्राउ गरेको हो ।
२०७० सालको संविधान सभामा मुगुबाट निर्वाचित भएका मल्लमाथि अब प्रचलित कानून बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

