एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २३ र २४ गतेको चर्चित ‘जेनजी आन्दोलन’ का क्रममा भएको मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको सिफारिसलाई अक्षरशः पालना गर्ने निर्णय गरेसँगै प्रहरीले शनिबार झिसमिसेमै पक्राउ प्रक्रिया अगाडि बढाएको थियो।

एमाले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार ओलीलाई पक्राउ गरी अहिले परिसर ल्याइँदैछ। प्रहरी टोली ठूलो संख्यामा निवास पुगेपछि अध्यक्ष ओलीले हतार–हतार आफ्ना कानुनी सल्लाहकारहरू वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई निवासमै बोलाउनुभएको थियो। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरीले ‘जरुरी पुर्जी’ देखाएर अध्यक्षलाई गिरफ्तार गरेको पुष्टि गर्नुभएको छ। पक्राउ गर्ने क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच केही बेर धकेलाधकेल र तनावको स्थिति समेत सिर्जना भएको थियो।

यता, सोही घटनाको सिलसिलामा पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि भक्तपुरको कटुञ्जेबाट पक्राउ गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। भदौ २३ को आन्दोलनमा गृह मन्त्रालयको कमाण्ड सम्हालिरहेका लेखकमाथि हेलचेक्र्याइँपूर्वक दमन गरी मानिस मारेको आरोप आयोगले लगाएको थियो। आयोगको प्रतिवेदनले उनलाई ३ देखि १० वर्षसम्मको कैद सजाय हुनुपर्ने कडा सिफारिस गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज