रास्वपा सभापति रवि लामिछानेलाई राहत: अब कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले नियमित तारेखबाट उन्मुक्ति दिएको छ। मंगलबार जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले लामिछानेको मागबमोजिम अब उप्रान्त अदालतमा उपस्थित भई नियमित तारेख बुझ्न नपर्ने आदेश जारी गरेको हो। यसअघि उनले हरेक महिना अदालत पुगेर तारेख बुझ्नुपर्ने कानुनी बाध्यता रहेको थियो, जसका विरुद्ध उनले आइतबार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित निवेदन दर्ता गराएका थिए।

अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार यो आदेशपछि लामिछानेले मासिक रूपमा अदालत आउनुपर्ने झन्झट हटेको छ। यद्यपि, मुद्दाको कारबाही प्रक्रिया चलिरहने र अदालतले थप प्रमाण बुझ्न वा अन्य विशेष कारणले आवश्यक ठानेर बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्नेछ। सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका लामिछाने अघिल्लो वर्षको पुसमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित ६३ जनालाई विपक्षी बनाई मुद्दा दायर गरेको छ, जसमा लामिछानेमाथि ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाखभन्दा बढी बिगो दाबी गरिएको छ। धरौटीमा छुटेपछि पनि उनी नियमित रूपमा पोखरा आएर तारेख बुझ्दै आएका थिए र पछिल्लो पटक माघ २९ गते अदालत उपस्थित भएका थिए। अब भने मुद्दाको अन्तिम फैसला वा अदालतको विशेष आदेश नआएसम्म उनले कास्की धाउनु पर्ने छैन।

सम्बन्धित समाचार

ताजा न्यूज