काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निकट स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्रले हालै व्यक्त गरेको एक विवादास्पद अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ। मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा, भक्तपुरमा आयोजित ३३ औँ कानुन व्यवसायी महिला सम्मेलनका क्रममा अध्यक्ष मिश्रले दिएको विचारले विधिको शासन र संविधानको मर्ममाथि प्रहार गरेको उल्लेख गरिएको छ।
विशेष गरी बार अध्यक्ष मिश्रले “दुई तिहाइको सरकारसँग पोजिसन लिन्छौँ” भनी दिएको अभिव्यक्तिलाई मञ्चले धम्कीपूर्ण र गैरजिम्मेवार ठहर्याउँदै यस्तो भनाइले सार्वभौम नेपाली नागरिक र जनमतको घोर अपमान गरेको ठहर गरेको छ। नेपालको संविधानको धारा १२९ मा प्रधानन्यायाधीश तथा न्यायाधीश नियुक्तिको स्पष्ट व्यवस्था हुँदाहुँदै त्यस विपरीत जान खोज्नु र बारको विधानभन्दा बाहिर गएर राजनीतिक रङ दिनु आपत्तिजनक रहेको विज्ञप्तिमा जनाइएको छ।
मञ्चले सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिकृष्ण कार्कीको समितिले बुझाएको प्रतिवेदन र वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा गठित न्यायालय पुनर्संरचना समितिको प्रतिवेदनलाई समेत स्मरण गराएको छ। ती प्रतिवेदनहरू बारको राष्ट्रिय सम्मेलनबाट समेत अनुमोदन भइसकेको तर्फ सचेत गराउँदै मञ्चले बार अध्यक्षलाई आफ्नो पदीय हैसियत र सीमाभित्र रहन तथा नागरिकको जनमतको उपहास नगर्न कडा अपिल गरेको छ। कानुनी क्षेत्रको गरिमा जोगाउन र संवैधानिक सर्वोच्चता कायम राख्न सम्बन्धित सबै पक्ष सजग रहनुपर्नेमा विज्ञप्ति मार्फत जोड दिइएको छ।


