काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले आगामी चैत १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । संघीय संसद् सचिवालयले बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलसँग छलफल गरी सो दिन दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दलहरूसँग शपथ ग्रहण, सदस्यहरूको अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनका विषयमा विस्तृत परामर्श गरिएको थियो ।
शपथ ग्रहण प्रक्रियाअन्तर्गत सबैभन्दा पहिले सदनका ज्येष्ठ सदस्यको पहिचान गरिनेछ । ती ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि मात्र अन्य नवनिर्वाचित सदस्यहरूलाई शपथ खुवाउने संवैधानिक व्यवस्था रहेको छ । सचिवालयले शपथ ग्रहण लगत्तै सदस्यहरूका लागि गरिने अभिमुखीकरण कार्यक्रममा सैद्धान्तिक ज्ञानभन्दा पनि व्यावहारिक र कार्यमूलक पक्षलाई बढी प्राथमिकता दिने योजना बनाएको छ । दलहरूले पनि संसदीय प्रक्रियाका व्यावहारिक कठिनाइ र कार्यसम्पादनका विषयमा केन्द्रित भएर प्रशिक्षण दिन सुझाव दिएका छन् ।
सचिवालयले नयाँ दलहरूको आगमनसँगै संसदीय दलको कार्यालय व्यवस्थापनमा केही चुनौती देखिए पनि उपलब्ध स्रोतसाधनका आधारमा कार्यकक्षहरू तय गरिएको जनाएको छ । छलफलका क्रममा दलका प्रतिनिधिहरूलाई उनीहरूको कार्यकक्ष समेत देखाइएको थियो । यसै क्रममा सदस्य संख्याका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई साविकको नेकपाको कार्यालय रहेको स्थानमा व्यवस्थापन गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

