सुनिल पौडेल प्रकरणमा थप अनुसन्धान, सिंगापुरस्थित बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलसँग जोडिएको सिंगापुरस्थित बैंक खाताको विवरण जुटाउन आदेश दिएको छ। अदालतले सिंगापुरको United Overseas Bankमा रहेको भनिएको खातासम्बन्धी जानकारी पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो।

सरकारी उपकरण तथा सफ्टवेयर खरिद प्रक्रियामा घुस लिएको र उक्त रकम विदेशी बैंकमा जम्मा गरिएको आरोपसहित आयोगले २०८१ वैशाखमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले बैंक खाताको वास्तविक विवरण आवश्यक ठहर गर्दै थप प्रमाण जुटाउन आदेश दिएको हो।

नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता सम्झौता नभएको सन्दर्भमा अदालतले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग यस्तो विवरण प्राप्त गर्न सकिने कानुनी आधारबारे जवाफ पनि मागेको छ। अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले विवरण उपलब्ध हुने भए यथाशीघ्र पठाउन, नभए त्यसको कारण स्पष्ट गर्न निर्देशन दिएको हो।

यसैबीच अदालतले विदेशी बैंकसँग समन्वय गरी विवरण ल्याउन नेपाल राष्ट्र बैंकलाई समेत निर्देशन दिएको छ। सिंगापुरको केन्द्रीय बैंकमार्फत आवश्यक सहयोग लिएर सम्बन्धित बैंकबाट खातासम्बन्धी सूचना मगाउन भनिएको छ।

अख्तियारले पौडेल र अनिल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गर्दै नेपाल र विदेशमा जोडिएको करिब २४ करोड ९४ लाख रुपैयाँ सम्पत्तिमध्ये २३ करोड ७५ लाख रुपैयाँ भ्रष्टाचारबाट आर्जित भएको दाबी गरेको छ।

आयोगका अनुसार सरकारी निकायमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरूसँग मिलेमतो गरी अवैध कमिसन लिई विदेशी बैंकमा रकम राखिएको र त्यस्तो रकम आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गरिएको अनुसन्धानबाट खुलेको आरोप छ।

सम्बन्धित समाचार

ताजा न्यूज