काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले न्याय परिषद्को सिफारिसका आधारमा जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको नेतृत्व दिने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष भट्टले एक दशकभन्दा बढी समय न्याय सेवाअन्तर्गत सरकारी वकिलका रूपमा कार्य अनुभव हासिल गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट कानून विषयमा स्नातकोत्तर (एलएलएम) गरेका छन्।
यसैगरी उनले हङकङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानून तथा मानवअधिकार विषयमा उच्च अध्ययन गरेका छन्। न्याय र कानूनसम्बन्धी विषयमा उनका दर्जनौं अनुसन्धानमूलक लेख प्रकाशित छन् भने उनले फौजदारी कानूनमा विद्यावारिधि (पिएचडी) समेत गरेका छन्।

