काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिवादी रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग जोडिएको जग्गा हिनामिना प्रकरण विशेष अदालतमा सुनुवाइ हुँदैछ। उक्त मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासमा पेशी तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीसँग सम्बन्धित जग्गा कारोबारमा अनियमितता भएको आरोप लगाउँदै नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी गरेको छ।
अख्तियारको अभियोगपत्रअनुसार तत्कालीन प्रधानमन्त्री रहेका बेला माधव नेपालले पदको दुरुपयोग गरी सार्वजनिक सरकारी सम्पत्ति निजी तथा संस्थागत स्वार्थमा प्रयोग गर्न अनुमति दिएको आरोप छ। आयोगले नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको उल्लेख गरेको छ।
त्यस्तै, २०६६ माघ १८ गते प्रधानमन्त्रीको ठाडो आदेशमार्फत पतञ्जलीलाई कानुनले तोकेको सीमाभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिइएको दाबी अभियोगपत्रमा गरिएको छ। यस प्रक्रियाबाट ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको अख्तियारको निष्कर्ष छ।
उक्त जग्गा प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले ९३ जनाविरुद्ध सामूहिक रूपमा मुद्दा दायर गरेको हो। अब विशेष अदालतमा हुने सुनुवाइपछि मुद्दाको औपचारिक न्यायिक प्रक्रिया अगाडि बढ्नेछ।

