सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटमा भएको सुशीला बम्जन हत्या प्रकरणमा संलग्न रहेको अभियोग लागेका सासू र नन्दलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा पक्राउ परेकी सासू मायाँरानी बम्जन र नन्द मीना लामालाई सिन्धुली जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो। आइतबार जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ।
प्रहरीका अनुसार घटना गत पुस ६ गते सुशीलाकै घरमा भएको थियो। सोही दिन पक्राउ परेका दुवै जनामाथि अनुसन्धान पूरा गरी प्रहरीले माघ २ गते अदालतमा मुद्दा दायर गरेको थियो। अदालतको आदेशपछि आइतबार नै मायाँरानी बम्जन र मीना लामालाई सिन्धुली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
यसैबीच, अर्का अभियुक्त ससुरा दुर्गामान बम्जन उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रहेकाले हालसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ। घटनाका मुख्य योजनाकार भनिएका मृतकका श्रीमान् सूर्यबहादुर बम्जन भने कोरियाबाट नेपाल नआएकाले उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।
प्रहरीले प्रारम्भिक बयान, घटनास्थलको अवस्था तथा संकलित प्रमाणका आधारमा अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
घटनापछि मृतक सुशीलाको न्यायको माग गर्दै पीडित परिवार र स्थानीयवासीले निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्।

