आधिकारिकता दाबी गर्दै सर्वोच्च पुगे देउवा पक्षीय नेताहरू

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीभित्रको विवादलाई लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध देउवा पक्षले रिट निवेदन दायर गरेको हो।

निर्वाचन आयोगको निर्णय संविधान र पार्टी विधानविपरीत भएको दाबी गर्दै देउवा पक्षले उक्त निर्णय खारेज हुनुपर्ने माग राखेको छ। पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वोच्च पुगेको कानुनी टोलीले रिट निवेदन दर्ता गराइसकेको र हाल अदालतमा अध्ययनको प्रक्रियामा रहेको वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले जानकारी दिए।

देउवा पक्षका अनुसार विशेष महाधिवेशन नै विधानअनुसार नबोलाइएको र प्रक्रियागत त्रुटिका बीच नयाँ कार्यसमिति चयन गरिएको हो। त्यसैले सो महाधिवेशन र त्यसबाट बनेको नेतृत्व वैधानिक हुन नसक्ने उनीहरूको जिकिर छ।

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको निर्णय सार्वजनिक गरेपछि कांग्रेसभित्रको विवाद झन् चर्किएको छ। सर्वोच्च अदालतको निर्णयले अब पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज