वराहक्षेत्रमा २९ घरधुरीले पाए लालपूर्जा: दशकौँ लामो जग्गा विवादको सुखद अन्त्य

सुनसरी । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित १६ नं. प्लटमा दशकौँदेखि जारी जग्गा विवाद अन्ततः संवाद, सहकार्य र साझा समझदारीको माध्यमबाट समाधान भएको छ। मिति २०८२ कार्तिक १९ गते राजाबासस्थित वडा कार्यालयमा आयोजित विशेष समारोहका बिच २९ घरधुरीले जग्गाधनी लालपुर्जा हातमा पाएपछि स्थानीय बासिन्दा उत्साह र हर्षले भरिएका छन्।
नगरपालिकाकी उप–मेयर तथा न्यायिक समिति संयोजक नन्दकुमारी राईले प्रमुख अतिथिको रूपमा उपस्थित रहँदै जग्गा उपभोग गर्दै आएका २९ घरपरिवारलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो। कार्यक्रममा वडा अध्यक्ष निरञ्जन मण्डल चन्द्रवंशी, न्यायिक समिति सदस्य तथा वडा ७ का अध्यक्ष कपिल आचार्य, स्थानीय बुद्धिजीवी, माकुरा समूहका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति थियो।
लालपुर्जा प्राप्त गरेका ढोलबझिया टोलका एक बासिन्दा उत्साहित हुँदै भने, “अब यो जमिन साँच्चिकै हाम्रो भयो। संवादले जित्यो, र यस लालपुर्जाले स्थायी स्वामित्वसँगै स्थायी शान्तिको अनुभूति दिलायो।”
तर यो सफलताको यात्रा भने त्यति सजिलो थिएन। राजाबासको ढोलबझिया बस्तीमा झन्डै ६ दशकअघि विभिन्न समुदायका परिवारहरू बसाइँ सराइ गरी बसेका थिए। उनीहरूले खेती गरिरहेका १५–१६ बिघा जमिन मल्ल परिवारहरूको नाममा दर्ता थियो। २०७२ सालमा वारिसनामा गएपछि नयाँ जग्गाधनीहरूले प्लटिङ प्रक्रिया अघि बढाए, तर त्यहीँबाट ४५ घरपरिवारका जग्गा उपभोगकर्ता, श्रीजंगा युगसिंह निशान हिम भाषा भाषी आधारभूत विद्यालय र सयपत्री क्लब बिच विवाद चर्कियो।
६०–६५ वर्षदेखि जग्गा जोत भोग गर्दै आएका उपभोगकर्ताहरू र जग्गा धनीहरूबिच पटक–पटक छलफल भए पनि समाधान हुन सकेन। विवादले पटक–पटक झगडा, गालीगलौज र हातपातसम्मको रूप लिँदै वडा र नगरपालिकामा पुगे पनि समाधान हुन सकेको थिएन। विभिन्न तहमा छलफल भए पनि समाधान नआएपछि अन्ततः वराहक्षेत्र नगरपालिकाको न्यायिक समितिले उक्त विवादलाई प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालमार्फत “द्वन्द्व रूपान्तरण” प्रक्रियामा लैजाने निर्णय गर्‍यो।
माकुरा जालो पद्धतिमार्फत केन्द्रले २०८१ मङ्सिर ७ गतेदेखि द्वन्द्व रुपातरणको प्रक्रियाको सुरुवात गर्‍यो। सबै पक्षबिच संवाद, सम्बन्ध पुनर्स्थापना र साझा बुझाइ निर्माण गर्न स्थानीय समुदायबाट १३ जना सदस्यहरूको “माकुरा समूह” गठन गरियो।
माकुरा समूहले निरन्तर सहजीकरण गरेपछि अन्ततः २०८१ चैत्र २० गते साझा सहमति निर्माण भयो। अदालत वा बल प्रयोग होइन, आपसी संवाद र समझदारीकै बाटोबाट समाधान खोज्ने यो अभ्यास समुदायका लागि नयाँ अनुभव बन्यो।
यस सहमतिको परिणामस्वरूप, ४५ घरधुरीमध्ये २९ घरधुरीले आफ्नै नाममा जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्। बाँकी घरधुरीहरूपनि प्रक्रियामा रहेका छन् ।
उप–मेयर नन्दकुमारी राईले भनिन्, “यो घटनाले प्रमाणित गर्‍यो — जब समुदाय आपसमा संवाद गर्छ, समाधान असम्भव हुँदैन।” वडा अध्यक्ष निरञ्जन मण्डलले थपे, “वर्षौँको विवाद आज सहमतिमा टुङ्गिएको छ, यो सम्पूर्ण समुदायको जित हो।”  वराहक्षेत्रको यो घटना केवल जग्गा स्वामित्वको प्रमाणपत्र हस्तान्तरणको कथा होइन, यो समुदाय–केन्द्रित द्वन्द्व रूपान्तरणमार्फत सम्भव हुने स्थायी शान्तिको सजीव उदाहरण हो। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले जल, जङ्गल र जमिनसँग सम्बन्धित विवादलाई रूपान्तरण गरी दिगो शान्ति निर्माण गर्ने अभियान सञ्चालन गर्दै आएको छ।
वराहक्षेत्रको यो सफलता सोही अभियानको चम्किलो प्रतीक बनेको छ, जहाँ मेलमिलाप, विश्वास र संवादले जितेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज