कांग्रेसमा विशेष महाधिवेशनको माग बलियो, हस्ताक्षर ५४ प्रतिशत नाघ्यो

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग थप प्रबल बनेको छ। हाल कायम महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतभन्दा बढीले विशेष महाधिवेशन आह्वान गर्न समर्थन जनाएका छन्।

१४औं महाधिवेशनमा ४७४३ प्रतिनिधि रहेकामा पार्टी परित्याग, निधन र स्वतः प्रतिनिधित्व अन्त्य भएका सदस्य घटाउँदा अहिले ४५५६ जना प्रतिनिधि कायम छन्। तीमध्ये २४८७ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्, जसले कुल कायम प्रतिनिधिको ५४.५८ प्रतिशत प्रतिनिधित्व गर्छ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हस्ताक्षर संकलन गरिएको हो। उनीहरूले मंसिरभित्र नियमित महाधिवेशन सम्पन्न हुन नसके पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन्।

संकलित हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउन तयारी भइरहेको बताइएको छ। कांग्रेस विधान अनुसार, कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ।

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलनले पार्टीभित्र नेतृत्व र संगठनात्मक दिशाबारे पुनः बहस तीव्र बनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज