काठमाडौं । रौतहटमा शिक्षक नियुक्ति प्रक्रियामा ४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा एक प्रधानाध्यापक र एक बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
अख्तियारका अनुसार पक्राउ परेका व्यक्ति जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जयप्रसाद र बिचौलिया अरविन्द प्रकाश साह हुन्। उनीहरूलाई अख्तियारको टोलीले पर्सा वीरगञ्ज महानगरपालिका–१३ अदातरोस्थित एक होटलबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार, विद्यालयले शिक्षक आवश्यकता खुलाएको विज्ञापनमा उनीहरूले इच्छुक उम्मेदवारसँग मिलेमतो गरेर घुस असुली गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पौडेलले भने, “बिचौलियामार्फत शिक्षक नियुक्तिमा सहयोग गर्ने भन्दै घुस लिइसकेपछि दुवै जनालाई रंगेहात पक्राउ गरिएको हो।”
अख्तियारले उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको छ र घुस रकमसहित आवश्यक प्रमाण संकलन भइरहेको जनाएको छ।