चितवन । जिल्ला कारागार चितवनबाट जेन—जी आन्दोलनको मौका छोपी घर गएका मध्ये सबैभन्दा धेरै जबरजस्ती करणी र लागु औषध अपराधका कैदीबन्दी कारागार फर्किन बाँकी रहेका छन् ।
विभिन्न अपराधमा कैद भुक्तानी गरिरहेका कैदी र अदालतबाट अन्तिम फैसला आउन बाँकी रहेर जिल्ला कारगारमा बन्दीका रुपमा रहेका ७ सय ४२ जना कैदीबन्दी आन्दोलनको मौका उठाइ घर गएका थिए । जसमध्ये ५ सय ८६ जनालाई मध्ये केही आफै र केहीलाई प्रहरीले पक्राउ गरेर कारागार फिर्ता ल्याएको छ ।
चितवन प्रहरीका अनुसार १ सय ५६ जना कैदीबन्दी अझै पनि समुदायमा छन् । तिमध्ये सबैभन्दा धेरै जबरजस्ती करणी मुद्दाका चार जना भारतीय सहित ३९ जना र ६ जना भारतीय सहित लागु औषध अपराधका पनि ३९ जना नै कैदीबन्दी कारागार नफर्किएका चितवन प्रहरीले जनाएको छ ।
कारागारको विवरण अनुसार चोरी मुद्दाका १८ जना, कर्तव्य ज्यान र गैँडा तस्करीका १४÷१४ जना कैदीबन्दी समुदायमा नै छन् । त्यसैगरि अखेटोपहार तस्करीको अपराधका ६, ठगीका ५, डाँका कसुरका ४, बैँकिङ कसुरका ३ जना व्यक्तिहरु समुदायमा नै छन् ।
चितवन कारागारबाट सवारी अङ्गभङ्ग, चेक अनादार, बाल यौन दुव्र्यवहार, अपहरण, जिउमास्ने बेच्ने, अभद्र व्यवहार, विद्युतीय कारोबार लगायतका कसुरका व्यक्तिहरु पनि कारागार फर्किन बाँकी रहेका छन् ।
कारगार फर्किन बाँकीमा एक सय ४५ जना नेपाली छन् भने ११ जना भारतीय रहेका चितवनका प्रहरी प्रमुख एसपी गोबिन्द पुरीले जानकारी दिए । कारागारबाट निस्किएर समुदायमा रहेका व्यक्तिहरुको खोजी तीब्र बनाइएको पनि उनले जानकारी दिए ।
एसपी पुरीका अनुसार गत हप्ता २३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेर कारागार ल्याएको छ । भने, बाँकी व्यक्तिको पनि तीन पुस्ते विवरणसहित प्रहरीले तीब्र खोजी गर्ने, परिवारलाई प्रहरीको जिम्मा लगाउन अनुरोध गर्ने लगायतका अभियान चलाएको छ ।
‘जिल्लाका हरेक प्रहरीसँग समुदायमा रहेर कारागार फर्किन बाँकी कैदीबन्दीको विवरण छ, उनले भने, – उहाँहरुलाई हामीले अझै पनि फर्किन्स् भनेका छौँ, धेरैको जानकारी प्रहरीलाई आइसकेको छ । केही दिनमा नै सबैलाई नियन्त्रणमा लिन्छौँ ।