काठमाडौं । राजधानीमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका तीन प्रहरीलाई शुक्रबार पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ।
गत भदौ २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने क्रममा असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका थिए।
महाराजगञ्जमा ड्युटीमा खटिएका असई रायमाथि प्रदर्शनकारीले आक्रमण गरेका थिए। हिरासत व्यवस्थापनमा खटिएका उनले कैदीबन्दीलाई सुरक्षित बनाउन खोज्दा आफैं आक्रमणमा परेका थिए। उनलाई जोगाउन पुगेका जवान थापाको पनि त्यही क्रममा मृत्यु भयो।
उक्त दिनै कोटेश्वरमा भएको प्रदर्शन नियन्त्रणको प्रयास गर्ने क्रममा सहायक हवल्दार गुरुङमाथि आक्रमण हुँदा ज्यान गुमाएका थिए।
प्रहरी प्रशासनले उनीहरूको बलिदानलाई राष्ट्रिय सुरक्षाप्रति समर्पणको प्रतीक भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

