काठमाडौं । उच्च अदालत पाटनले नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई फुटबल गतिविधिबाट रोक लगाउने निर्णय खारेज गरेको छ। अदालतले सो निर्णय न्यायको सिद्धान्त विपरीत भएको ठहर गर्दै थापालाई फुटबलसम्बन्धी गतिविधिमा सहभागी हुन नरोकिने आदेश दिएको हो।
एन्फाको अनुशासन समितिले गत वैशाख ४ मा र सदाचार समितिले वैशाख १६ मा विधानको धारा २४(३) ङ अनुसार भन्दै थापालाई कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन निषेध गर्ने निर्णय गरेको थियो। तर, न्यायाधीश मुनिन्द्रराज अवस्थीको इजलासले थापाले पहिले नै फिफाको कारवाही भोगिसकेको भन्दै पुनः कारवाही गर्न नपाइने स्पष्ट पारेको हो।
फैसलामा भनिएको छ, “एकै विषयमा दुई पटक सजाय दिन नमिल्ने सिद्धान्तअनुसार फिफाले गरेको कारवाहीपछि पुनः कारवाही गरेर भविष्यमा फुटबल गतिविधिमा सहभागी हुन रोक लगाउनु न्यायिक दृष्टिले उचित हुँदैन।”
अदालतले एन्फालाई थापालाई फुटबल गतिविधिबाट रोक्ने कुनै पनि कदम नचलाउन र नगराउन आदेश पनि जारी गरेको छ।
यसअघि पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश विपरीत गत वैशाख २६ गते एन्फाको साधारण सभामा थापालाई प्रवेश गर्न नदिएपछि उनले अदालतको अवहेलाको रिट दायर गरेका थिए। तर, उक्त रिट उच्च अदालतले खारेज गरेको छ।

