काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आजदेखि नयाँ सभापति चयनका लागि मनोनयन प्रक्रिया सुरु हुँदैछ ।
सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मनोनयन आज दिउँसो १ बजेदेखि ४ बजेसम्म गर्ने समय तोकेको जानकारी दिएका छन्। समितिका सदस्यहरूले आफूले प्रस्ताव गर्न चाहेका उम्मेदवारका लागि अर्को सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यतालिका अनुसार दिउँसो ४ बजेसम्म मनोनयन दिइसकेपछि उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिनेछ भने बुधबार दिउँसो ३ बजे समिति बैठक बसेर निर्वाचन सम्पन्न गरिनेछ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा गरिएको संशोधनपछि नैतिकताका आधारमा राजीनामा दिँदा पद रिक्त भएको थियो। सङ्घीय संसद नियमावलीअनुसार पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नु पर्ने व्यवस्था रहेको छ।
यसपटक समितिको सभापतित्व नेपाली कांग्रेसको भागमा परेको छ। तर पार्टीले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन। कांग्रेसले मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाएर यस विषयमा निर्णय गर्ने तयारी गरेको छ, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

