राज्य व्यवस्था समितिको सभापति चयनका लागि मंगलबार मनोनयन, बुधबार निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रिया सुरु हुँदैछ। समितिको सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार मंगलबार (भोलि) मनोनयन दर्ता हुने र बुधबार (भदौ ११ गते) निर्वाचन सम्पन्न हुने भएको छ।

समितिका सचिव कान्छा दुलालका अनुसार मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापति पदका लागि मनोनयन दर्ता गरिनेछ भने त्यसको नामावली सवा ४ बजे सार्वजनिक गरिनेछ। निर्वाचन भने बुधबार दिउँसो ३ बजे समितिको बैठक बसेर हुने कार्यक्रम रहेको छ।

यदि सभापतिको पदमा एक मात्र उम्मेदवारी दर्ता भए सर्वसम्मत रूपमा चयन हुनेछ। तर, दुई वा बढी उम्मेदवारी परे निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

समितिमा बहुमत सुनिश्चित गर्दै सत्तारूढ दलहरूले नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेका छन्। तर, प्रतिपक्ष दलले उम्मेदवारी दिने वा नदिनेबारे अझै टुंगो लगाएको छैन।

२७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९, नेकपा एमालेका ६ सदस्य छन्। एमाले र कांग्रेस मिल्दा मात्रै १५ सदस्यको बहुमत पुग्छ। यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्रनाथ सुक्ला, जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई पनि समितिमा रहेका छन्। यी सदस्यहरूलाई समेट्दा सत्तापक्षको संख्या १८ पुग्छ।

नेपाली कांग्रेसका तर्फबाट समितिमा अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्यका रूपमा रहेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज