निकिता पौडेलको चेतावनी : न्याय नपाएसम्म उच्च अदालतदेखि अन्तर्राष्ट्रिय अदालतसम्म लड्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएकी छिन्।

प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै पौडेलले आफ्नो पत्रमा वर्तमान कार्यकालमै भइरहेको “खुला अन्याय”बारे गम्भीर रूपमा सोच्न आग्रह गरेकी छिन्। उनले भनेकी छन्, “कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन, कार्यकालमै लेखिएको आदेशले न्याय दिन्छ।”

उनले अघिल्लो पेशीका क्रममा न्यायिक परिषद्मा उजुरी दर्ता र मिडिया ट्रायलमार्फत अदालतमा दबाब सिर्जना गरिएको आरोप लगाउँदै यस्तो अवस्थाले स्वतन्त्र न्याय सम्पादनमा बाधा पु¥याएको बताइन्।

पौडेलले स्पष्ट गरेकी छन्, “न्याय पाउँछु पाउँदिन थाहा छैन तर म उच्च अदालत बुटवल, न्याय परिषद् र अन्तर्राष्ट्रिय अदालतसम्म जान्छु। न्याय नपाउन्जेल लड्छु।”

यस्तो छ निकिताले प्रधानन्यायाधीशलाई लेखेको पत्र :

सम्माननीय प्रधान न्यायाधीश ज्यू ,
तपाईँको कार्यकाल बाँकी छँदै आफ्नो कार्यकालमा भएको खुल्ला अन्याय बारे सोच्नुहोला । कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन कार्यकाल छँदै लेखेको आदेशले दिने हो न्याय। अस्तिका दिन हाम्रो मुद्दा चलेको बेलामा गरिएको उजुरी र मिडिया ट्रायलका कारण न्यायालयमा पारिएको दबाब विरुद्ध म न्याय परिषद् जान्छु र स्वतन्त्र न्याय सम्पादनमा बाधा पुगेका बेला न्याय सम्पादन भएको रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध म उच्च अदालत बुटवल पनि जान्छु। न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु।

सम्बन्धित समाचार

ताजा न्यूज