काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नलगाई कारोबार गर्ने तीनवटा उद्योग तथा फर्मलाई कुल ६ लाख १५ हजार रुपैयाँ जरिवाना लगाएको छ।
सोमबार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१ स्थित नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्सन प्रा.लि.लाई ३–३ लाख रुपैयाँ जरिवाना तिराएको छ। साथै, यी दुई कम्पनीलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
त्यसैगरी, ललितपुर–५ मा रहेको मटर्निटी पसल प्रा.लि.लाई १५ हजार रुपैयाँ जरिवाना लगाइएको विभागले जानकारी दिएको छ।
विभागका अनुसार ती उद्योग र फर्महरूले उत्पादनमा एमआरपी नलगाई बिक्री गर्ने अनियमितता गरेका कारण यो कारबाही गरिएको हो।
अझै, विभागले अनुगमन गरेका थप छवटा उद्योग तथा फर्मलाई पनि तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन जारी गरेको छ।