कैलाली कारागारमा तनाव, ४७ घाइते, कारागार कैदीबन्दीको नियन्त्रणमा

धनगढी । कैलाली कारागारमा शुक्रबार राति भएको भीषण झडपपछि अवस्था अझै तनावग्रस्त बनेको छ । झडपमा एक जनाको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका छन् । मृतक धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको शव परिवारले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नहुँदासम्म बुझ्ने गरेका छैनन् ।

सुरक्षा स्रोतका अनुसार १५० कैदी क्षमताको कारागारमा करिब ७०० जना राखिएका छन् । शुक्रबार राति करिब ११ बजेतिर ब्लक ‘ए’ का कैदीहरूले टालिएको ढोका फुटाएर ब्लक ‘बी’ मा प्रवेश गरी निदाइरहेका कैदीमाथि रड, खुकुरी, चक्कु र इँटाले आक्रमण गरेका थिए ।

आक्रमणका क्रममा घाइते तीन जनाको अवस्था गम्भीर छ । गोदावरीका आयुश भट्ट र धनगढीका रवि चौधरीलाई आइसियूमा राखेर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

स्रोतका अनुसार यो हिंसात्मक घटना भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदीको सरुवा र कारागारको नाइके परिवर्तनको विवादका कारण चर्किएको हो । प्रशासनले पहिल्यै चेतावनी पाएको भए पनि आवश्यक सुरक्षा सतर्कता नअपनाएको आरोप लगाइएको छ ।

अहिले कारागारभित्र कैदीबन्दीहरूले ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएका कारण सुरक्षाकर्मी प्रवेश गर्न सकेका छैनन् । घटना नियन्त्रित गर्न स्थानीय प्रशासन र प्रहरी रणनीति बनाउन जुटिरहेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज