जाजरकोट । भारतको उत्तराखण्ड राज्यमा हालै आएको भीषण बाढी र पहिरोले नेपालमा पनि गहिरो असर पारेको छ। उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’का कारण आएको प्राकृतिक विपत्तिमा परी जाजरकोटको कुशे गाउँपालिकाका १३ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
कुशे गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको शोक विज्ञप्तिमा वडा नं. २ का १३ जना र अन्य वडाका केही नागरिकहरू पनि सम्पर्कविहीन रहेको जनाइएको छ। बेपत्ता नागरिकहरू श्रावण २० गतेको घटनापछि हराइरहेका छन्।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको गम्भीरतालाई बुझ्दै तत्काल खोज, उद्धार तथा कूटनीतिक पहलका लागि नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।
उत्तरकाशीको हर्षिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’पछि उत्पन्न भीषण बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। उक्त घटनाले नेपालका नागरिक पनि प्रभावित बनाएकोमा स्थानीय सरकार गहिरो चिन्तित रहेको जनाएको छ।
गाउँपालिकाले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै हराइरहेका नागरिकहरूको यथाशीघ्र सुरक्षासहितको अवस्थाबारे जानकारी प्राप्त होस् भन्ने अपेक्षा व्यक्त गरेको छ।