काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादबारे अध्ययन गर्न बनेको विशेष संसदीय छानबिन समितिले आज सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ।
समितिका सदस्य तथा एमाले सांसद नारायणप्रसाद आचार्यका अनुसार प्रतिवेदन तयार भइसकेको छ र प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा पेस गरिनेछ। “हामीले अन्तिम तयारी गरिरहेका छौँ,” आचार्यले भने।
प्रतिवेदन पेसको पूर्वसन्ध्यामा समिति आइतबार राति १२ बजेसम्म बैठक बसेको थियो भने आज बिहानै ७ बजेदेखि सिंहदरबारस्थित कार्यालयमा पुनः बैठक जारी छ। समितिको म्याद आइतबार नै सकिएको हो।
यसअघि समितिले कार्यकाल २१ दिनको माग गरेको थियो भने सो म्याद सकिएपछि थप एक साता दिइएको थियो।
आइतबार समितिमा रहेका सत्तारूढ दलका सांसदहरूले प्रमुख सचेतकहरू एमालेका महेश बर्तौला र नेपाली कांग्रेसका श्यामकुमार घिमिरेसँग परामर्श गरेका थिए। छलफलको केन्द्रमा समितिको म्याद थप आवश्यक छ कि छैन भन्ने विषय पनि रहेको एमाले मुख्य सचेतक बर्तौलाले बताएका छन्।
गत २३ असारमा संघीय निजामती सेवा विधेयकमा उल्लेखित ‘२ वर्षको कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानबारे प्रयोग गरिएको भाषाले सहमति निष्क्रिय हुने आशंका उत्पन्न भएको भन्दै विशेष छानबिन समिति गठन गरिएको थियो।
प्रतिनिधिसभाका सदस्य जीवन परियार सभापति रहेको उक्त समितिमा कांग्रेसबाट सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।
प्रतिवेदनमा के निष्कर्ष निकालिएको छ भन्नेबारे भने औपचारिक जानकारी दिइएको छैन।