सामाजिक सञ्जालमा यौन औषधिको नाममा ठगी, औषधि विभागको कडा चेतावनी

काठमाडौं । औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत विज्ञापन गरिँदै आएका यौन शक्ति वृद्धिलगायतका औषधिजन्य उत्पादनहरू जनस्वास्थ्यका लागि गम्भीर खतरा भएको भन्दै तुरुन्त हटाउन निर्देशन दिएको छ।

विभागले औषधिको नाम, तस्बिर र दाबी गरिएको प्रभावका आधारमा अत्यावश्यक सार्वजनिक सूचना प्रकाशित गर्दै यस्ता उत्पादनमा वैज्ञानिक प्रमाण, गुणस्तर परीक्षण र चिकित्सकीय प्रमाण नभएको स्पष्ट पारेको छ।

फेसबुक, टिकटक, युट्युबजस्ता प्लेटफर्महरूमा ‘थाइराइड’, ‘प्रोस्टेट’, ‘सुगर’, ‘युरिक एसिड’, ‘मोटोपन घटाउने’, ‘रक्सी छोडाउने’, ‘क्यान्सर निको पार्ने’ र ‘यौनशक्ति बढाउने’ दाबीसहितका औषधिहरू खुलेआम प्रचारमा छन्। विभागका अनुसार यस्ता उत्पादनहरू मेडिकल प्रमाणबिनै बेचेको पाइएको छ, जसले गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा रहेको छ।

विभागका महानिर्देशक नारायण ढकालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “बिना प्रमाण रोग निको पार्ने ग्यारेन्टी दिने, यौनशक्ति वृद्धिको झूटा दाबी गर्ने औषधि सेवनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। त्यसैले यस्ता भ्रामक विज्ञापन र बिक्री वितरण तत्काल बन्द गर्न जरुरी छ।”

विभागले यस्ता उत्पादनको सेवन नगर्न र औषधि प्रयोग गर्नुअघि योग्य चिकित्सकको परामर्श लिन आम जनतालाई आग्रह गरेको छ। साथै, यस्ता गतिविधि नियमन गर्न अनुगमन समेत कडाइका साथ गरिने जनाएको छ।

 

 

सम्बन्धित समाचार

ताजा न्यूज