मोरङ। फौजदारी कानुनका विविध विषयमा केन्द्रित ७ दिने आधारभूत तालिम विराटनगरमा सम्पन्न भएको छ।
नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजय प्रसाद मिश्रबाट साउन १ गते उद्घाटन गरिएको तालिम आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो।
कानून व्यवसायी परिषद्का अध्यक्ष तथा महान्यायाधिवक्ता केशव बडालको प्रमुख आतिथ्यता र कानून व्यवसायी परिषद् कोशी प्रदेशका पार्षद अधिवक्ता राजु ढकालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीश राजन प्रसाद भट्टराई, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता नारायण बस्ति, मोरङ बार एशोसिएसनका अध्यक्ष हरिशंकर मण्डल, झापा बार एशोसिएसनका अध्यक्ष बसन्त नेपालसहित अन्य वरिष्ठ अधिवक्ता तथा पूर्व पार्षदहरूको उपस्थिति रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बडालले फौजदारी न्याय प्रणालीलाई थप व्यवस्थित, वैज्ञानिक, आधुनिक र पीडितमैत्री बनाउन फौजदारी संहितामा आवश्यक संशोधनको खाँचो औंल्याउनुभयो। साथै, नवप्रवेशी कानून व्यवसायीहरूको क्षमता विकास गर्न यस्ता तालिमहरू उपयोगी हुने भन्दै सफलतापूर्वक सम्पन्न तालिममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
सहभागीहरूको तर्फबाट मन्तव्य राख्दै झापा बार एशोसिएसनकी सहसचिव तथा महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत “सीता”ले यस्ता तालिमहरूबाट सहभागीहरूलाई फौजदारी कानुनका विविध पक्षबारे महत्वपूर्ण ज्ञान, सीप र आत्मविश्वास प्राप्त भएको बताउनुभयो।
कानून व्यवसायी परिषद् अन्तर्गत लयर्स एकेडमी समितिको आयोजनामा र कोशी प्रदेश सम्पर्क कार्यालय, विराटनगरको सह-आयोजनामा सम्पन्न उक्त तालिममा फौजदारी कानूनका विषयमा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा विज्ञ प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरेका थिए।
तालिममा मोरङ, सुनसरी, झापा लगायतका जिल्लाबाट ४५ जना भन्दा बढी नवप्रवेशी कानून व्यवसायीहरूको सक्रिय सहभागिता रहेको जानकारी अधिवक्ता बस्नेतले दिनुभयो।