शिक्षक महासंघले शिक्षा ऐन ल्याउन सरकारलाई दियो २० दिनको अल्टिमेटम

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ। महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन २१ भित्र विधेयक पारित नगरे सरकारले गम्भीर आन्दोलनको सामना गर्नु पर्ने चेतावनी दिएको हो।

महासंघले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको विद्यालय शिक्षा विधेयकलाई छिटो टुंगोमा पुर्‍याएर प्रतिनिधिसभाबाट पारित गर्न आग्रह गरेको छ। पत्रकार सम्मेलनपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “२०७५, २०७८, २०८० र २०८१ मा भएका सम्झौताका आधारमा ऐन जारी गर्नु सरकारको नैतिक दायित्व हो, अन्यथा महासंघ बाध्यात्मक आन्दोलनमा जान्छ।”

महासंघले यसअघि २९ दिन लामो शैक्षिक आन्दोलन गरेपछि सरकारले १५ असारभित्र ऐन ल्याउने सहमति गरेको भए पनि अहिलेसम्म कुनै प्रगति नभएको भन्दै असन्तुष्टि जनाएको छ।

शिक्षक सरुवा, स्थायीत्व, ट्रेड युनियन अधिकार, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको व्यवस्थापन, द्वन्द पीडित शिक्षकको समस्या समाधानलगायत विषय समेटिएको ऐन तत्काल नआए आन्दोलन चर्काउने चेतावनी महासंघले दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज