काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदमा तीव्र आपत्ति जनाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठक प्रारम्भ हुँदै गर्दा सभामुख देवराज घिमिरेले बैठक प्रारम्भको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका हुन्। सभामुखले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिएपछि उनले गम्भीर आरोपसहित मन्तव्य राखे।
सांसद शिव नेपालीले मन्त्री गुप्ताको राजीनामा स्वागतयोग्य भए पनि यो नै प्रयाप्त नहुने स्पष्ट पारे। उनले भने, “गुप्ताले राजीनामा दिँदैमा घुस प्रकरण सेलाउनु हुँदैन, अब सत्यतथ्य बाहिर ल्याउन गहिरो र निष्पक्ष छानबिन आवश्यक छ।”
गृहमन्त्रीमाथि पनि प्रश्न उठे
सांसद नेपालीले गृहमन्त्री रमेश लेखकमाथि पनि आलोचना गरे। उनले भने, “गुप्ताले आरोप लागेपछि नैतिकता देखाउँदै राजीनामा दिए, तर गृहमन्त्री लेखकले आफूमाथि प्रश्न उठ्दा पनि कुनै प्रतिक्रिया नदेखाउनु लज्जास्पद हो। उनी कहिले राजीनामा दिन्छन्?”
प्रमुख प्रतिपक्षसहित सांसदहरू सरकारको जवाफदेहिता र नैतिकतामाथि प्रश्न उठाउँदै आक्रोशित देखिए।
यता, सार्वजनिक अडियोले मन्त्री गुप्ताको भूमिकामाथि गम्भीर प्रश्न उठाइसकेको छ। उक्त अडियोमा भूमि आयोगको अध्यक्ष नियुक्ति र पोखराको एक जग्गा प्रकरणमा रकम लेनदेनको कुराकानी सार्वजनिक भएको थियो। त्यसैको दबाबमा गुप्ताले सोमबार राजीनामा दिएका थिए।