काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अध्यक्ष रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर अभियानप्रति वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले ऐक्यबद्धता जनाएका छन्।
सोमबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थलीमा पुगेका भण्डारीले सो अभियानमा औपचारिक रूपमा हस्ताक्षर गरेका हुन्। लामिछानेमाथि गरिएको कारबाहीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै रास्वपाले असार ७ गतेदेखि देशव्यापी हस्ताक्षर संकलन अभियान थालेको हो।
पूर्वगृहमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष लामिछाने हाल प्रहरी हिरासतमा रहेका बेला रास्वपाले तेस्रो स्थापना दिवसको अवसर पारेर असार ७ गते सार्वजनिक गरिएको २० पृष्ठ लामो दस्तावेजमार्फत हस्ताक्षर अभियानको प्रस्ताव अघि सारेका थिए। सोही प्रस्तावअनुसार पार्टीले विभिन्न ठाउँमा हस्ताक्षर सङ्कलन गरिरहेको छ।