काठमाडौं । केही गीतहरू सामाजिक सद्भावमा असर पार्ने र अश्लील सामग्री समेटिएको भन्दै राष्ट्रिय लोकसंचारकर्मी नेपालले तीनवटा लोकप्रिय गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।
आइतबार अपरान्ह संस्थाका प्रतिनिधिहरू साइबर ब्युरोको कार्यालय पुगेर ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’, राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको ‘सल्ला दमारमा’, र रामजी खाँण तथा शान्तिश्री परियारको ‘लुकी लुकी’ नामक गीतमाथि औपचारिक उजुरी दर्ता गरेका हुन्।
उजुरीमा गायिका तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको हाउभाउ तथा प्रस्तुत शैलीले समेत सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको आरोप लगाइएको छ।
राष्ट्रिय लोकसंचारकर्मी नेपालका अनुसार यस्ता गीतहरूले समाजमा अश्लीलता, विकृति र विभाजनकारी सोच प्रवर्द्धन गर्ने काम गरिरहेका छन्। संस्थाले यस्ता सामग्रीमाथि तत्काल नियन्त्रण गर्न माग गर्दै उजुरी दिएको हो।
यसअघि शुक्रबार संस्थाका प्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकसँग भेट गरी ती गीतमाथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए।
संगीतको नाममा अश्लीलता र विभेदपूर्ण सन्देश फैलाउने प्रवृत्ति रोक्न राज्य गम्भीर रूपमा लाग्नुपर्ने संस्थाको माग छ।