काठमाडौं । उपभोक्तालाई ठग्ने उद्देश्यले उत्पादनमा मूल्य विवरण (एमआरपी) नलेख्ने, रिलेबलिङ गर्ने, प्रमाणपत्र नराख्ने जस्ता कार्यमा संलग्न दुई व्यवसायिक फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सवा दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागको नियमित बजार अनुगमनका क्रममा बिहीबार १६ वटा उद्योग तथा फर्म निरीक्षण गरिएको थियो। त्यसमध्ये काठमाडौं महानगरपालिका–१, नक्सालस्थित मसल फर्म स्टोर लाई २ लाख ५ हजार र टोखा नगरपालिका–११ स्थित शिवम् सोनु ट्रेडर्स लाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
दुवै व्यवसायले मूल्यसूची नराख्ने, दर्ता प्रमाणपत्र नदेखाउने, एमआरपी नलेख्ने, उत्पादनमा अनधिकृत रूपमा लेबल फेरबदल (रिलेबलिङ) गर्ने, गुणस्तर, परिमाण तथा नापतौलमा हेरफेर गर्ने तथा अनुगमन टोलीलाई आवश्यक जानकारी दिन असहयोग गर्नेजस्ता गम्भीर लापरबाही गरेको पाइएपछि जरिवाना गरिएको हो।
विभागका अनुसार अनुगमनमा संलग्न अन्य ६ वटा उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने ८ वटा फर्मलाई प्रारम्भिक चेतावनी दिइएको छ।
सरकारले पछिल्लो समय उपभोक्ता हितलाई केन्द्रमा राख्दै बजार पारदर्शिता कायम गर्न, मूल्य अनुगमनलाई व्यवस्थित बनाउने, र एमआरपी सहितको लेबलिङलाई बाध्यात्मक बनाउन बजार अनुगमन अभियानलाई तीव्र बनाएको छ। विभागका अनुसार उपभोक्ताले सामान खरिद गर्दा लेबल, एमआरपी, गुणस्तर चिन्ह, उत्पादन मिति र तौलजस्ता विवरण अनिवार्य रूपमा हेर्नुपर्नेछ।