६ करोडको अकुत सम्पत्ति प्रकरण : गण्डकीका लेखा अधिकृत पौडेलमाथि भ्रष्टाचारको मुद्दा

काठमाडौं । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोड रुपैयाँभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै पौडेलले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी ठूलो परिमाणमा गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पौडेलले स्रोत नखुलेको ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेका छन्।

पौडेल २०५४ साल माघ ८ गतेदेखि सरकारी सेवामा कार्यरत छन्। उनी विरुद्धको अनुसन्धान २०८० साल कात्तिक १० गतेसम्मको अवधिलाई आधार मानेर गरिएको थियो। सो अवधिमा उनले वैध स्रोतबाट आर्जन गर्न नसकेको सम्पत्ति र त्यसमा संलग्न क्रियाकलापको विस्तृत अध्ययनपछि भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको आयोगको भनाइ छ।

जाँचको क्रममा पौडेलले आर्जन गरेको ठूलो परिमाणको सम्पत्ति आफ्नी पत्नी हुमा कुमारीको नाममा राखेको र सम्पत्ति विवरणमा उल्लेख नगरेको पाइएको छ। आयोगले दुबैलाई प्रतिवादी बनाएर मुद्दा चलाएको छ।

आयोगले विशेष अदालतसमक्ष आरोपपत्र दायर गर्दै अवैध सम्पत्तिको जफत र भ्रष्टाचार निवारण ऐन, २०१७ तथा ऐन २०५९ बमोजिम कैद सजायको माग गरेको छ।

पछिल्लो समय प्रदेश सरकारका कर्मचारीहरूमा समेत भ्रष्टाचारका गम्भीर आरोप सार्वजनिक भइरहेका छन्। पौडेलमाथिको मुद्दालाई प्रदेशस्तरको उच्च पदस्थ कर्मचारीमाथिको दुर्लभ कानुनी कारबाहीका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज