किर्ते हस्ताक्षर प्रकरणमा बृहत्तर जनकपुर परिषद् अध्यक्ष शीतल साह पक्राउ

धनुषा । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह किर्ते हस्ताक्षरको अभियोगमा पक्राउ परेका छन्। परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको आरोपमा साहले आफैं प्रहरीसमक्ष उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।

धनुषा प्रहरीले साहलाई नियन्त्रणमा लिएर जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार अदालतले अध्यक्ष साहलाई चार दिनका लागि थुनामा राख्न म्याद दिएको छ।

गत चैत २८ गते कार्यकारी निर्देशक पासवानले साहविरुद्ध जाहेरी दर्ता गराएका थिए। जाहेरीमा आफूले हस्ताक्षर नगरेको कागजातमा आफ्नो हस्ताक्षर देखिएको र त्यसैका आधारमा चार कर्मचारीलाई पदबाट हटाइएको उल्लेख गरिएको थियो। प्रहरीले ती दस्तावेज विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो, जसबाट हस्ताक्षर किर्ते गरिएको पुष्टि भएको स्रोतले जनाएको छ।

पुष्टि भएपछि जिल्ला अदालतले साहलाई पक्राउ गर्न वैशाख २५ गते अनुमति दिएको थियो। त्यसयता फरार रहेका अध्यक्ष साह करिब दुई महिनापछि प्रहरी फन्दामा परेका हुन्।

साहले किर्ते हस्ताक्षर प्रयोग गरी प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र सञ्जय मण्डललाई परिषद्बाट निष्कासन गरेका थिए।

पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्षसमेत रहेका शीतल साह नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालको कोटाबाट परिषद्का अध्यक्ष नियुक्त भएका थिए।

प्रहरी स्रोतका अनुसार अनुसन्धानपछि साहमाथि सार्वजनिक अपराध सम्बन्धी मुद्दा अघि बढाइनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज