काठमाडौं । नेपाल शिक्षक महासंघमाथि अनियमित गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको छ।
शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले संघ दर्ता नै नगरी सञ्चालन भइरहेको, गैरकानुनी रूपमा लेटरप्याड र छाप प्रयोग गरी रकम संकलन गरेको भन्दै उजुरी दिएका हुन्।
उनीहरूले महासंघले सदस्यता शुल्क, नवीकरण दस्तुर तथा सहयोग रकम संकलन गर्दा कानुनी हैसियत नराखेको दाबी गरेका छन्। उजुरीमा महासंघको गतिविधि रोक्न र आवश्यक छानबिन गर्न माग गरिएको छ।
शिक्षा ऐन २०२८ को आठौँ संशोधनमार्फत साविकको नेपाल शिक्षक युनियनलाई नै शिक्षक महासंघमा रूपान्तरण गरिएको भए पनि हाल लक्ष्मीकिशोर सुवेदीको अध्यक्षतामा सञ्चालित महासंघ सोही होइन भन्ने उजुरीकर्ताको जिकिर छ।
‘शिक्षा ऐनको दफा १६(ङ) अनुसार सामुदायिक विद्यालयका शिक्षकका हकहितका लागि एउटै महासंघ रहने व्यवस्था छ,’ उजुरीमा उल्लेख छ, ‘तर हालको महासंघले छुट्टै दर्ता नम्बर ०२–२०६० राखेर आफूलाई संस्थागत रूपमा सञ्चालित गरिरहेको छ, जुन कानुन विपरीत छ।’
शंकरबहादुर कुमालले महासंघको दर्ता विवरण खोज्दा सम्बन्धित निकायको अभिलेखमा सो दर्ता नम्बर फेला नपरेको जानकारी समेत उजुरीमा उल्लेख गरिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सह–अध्यक्ष तथा प्रधानाध्यापक नानुमाया पराजुलीसहितका पदाधिकारीहरू उजुरीमा नामसहित उल्लेख छन्। उजुरीकर्ताहरूले यस विषयमा सर्वोच्च अदालतमा अवहेलना मुद्दा समेत दायर भएको जानकारी समितिलाई गराएका छन्।