हटपट चाउचाउ गुणस्तर परीक्षणमा फेल, विभागको बजार फिर्ता आदेश

काठमाडौँ । लोकप्रिय ब्रान्ड ‘हटपट’ चाउचाउ गुणस्तर परीक्षणमा फेल भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो उत्पादन बजारबाट तत्काल फिर्ता लिन आदेश दिएको छ।

पोखरा नुडल्स प्रा.लि. द्वारा उत्पादन गरिएको ‘हटपट’ चाउचाउ विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूनाको परीक्षण गर्दा न्यून गुणस्तरको भेटिएको हो। त्यसकै आधारमा विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सो ब्याचका उत्पादनको बिक्री तथा वितरण तत्काल रोक्न निर्देशन दिएको हो।

“खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार परीक्षण गर्दा सन् २०२४ को सेप्टेम्बर (वि.सं. २०८० भदौ) मा उत्पादन भएका ब्याच नं. १२७।यू२ का चाउचाउ मापदण्डअनुसार नपुगेको पाइएपछि बजारबाट फिर्ता गर्न सूचित गरिएको हो,” विभागको सूचनामा उल्लेख छ।

विभागले उपभोक्तालाई सो ब्याच नम्बर भएका ‘हटपट’ चाउचाउ प्रयोग नगर्न र सकेसम्म बिक्री केन्द्रमार्फत फिर्ता गर्न आग्रह गरेको छ। यस्तै, खुद्रा व्यापारी तथा डिलरहरूलाई पनि ती उत्पादनहरू बजारबाट हटाउन निर्देशन दिइएको छ।

उक्त उत्पादनको निर्माता पोखरा नुडल्स प्रा.लिलाई विभागले आवश्यक स्पष्टिकरण दिनुका साथै गुणस्तर सुनिश्चित गर्न पहल गर्न पनि निर्देशन दिएको छ। हालसम्म कम्पनीको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

खाद्य विभागले बजारमा गुणस्तरीय खाद्य वस्तुको सुनिश्चितताका लागि अनुगमनलाई थप सशक्त बनाउने जनाएको छ। “उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने उत्पादनलाई बिनाअपवाद कारबाही गरिनेछ,” विभागका एक अधिकारीले जनाए।

सम्बन्धित समाचार

ताजा न्यूज