पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको एकल इजलासले बिहीबार बयान तथा थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो।

पाठकले विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आज बिहान स्वयं अदालतमा उपस्थित भई बयान दिएका थिए। साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार उनका विरुद्ध मुद्दा दायर गरेको थियो।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको छ।

साइबर ब्युरोमा दर्ता भएको जाहेरीअनुसार, पत्रकार पाठकले आफ्नो सामाजिक सञ्जालमार्फत “हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा) को पैसा” शीर्षकसहितको सामग्री सार्वजनिक गरेका थिए। उक्त सामग्रीमा “काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ” भन्ने दाबी गरिएको थियो।

जाहेरीदाताले ती सामग्रीले आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्र हत्या गरेको आरोप लगाएका छन्।

पाठकले आफ्नो फेसबुकमा प्रकाशित सामग्री पत्रकारितासँग सम्बन्धित रहेको र आफूले सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाएको जिकिर गर्दै कानुनी प्रक्रियामा सहयोग गरिरहेका छन्।

साइबर अपराधसम्बन्धी यो मुद्दालाई सार्वजनिक चासोका रूपमा हेरिएको छ भने प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्दर्भमा समेत बहस शुरु भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज