विराटनगर । एक अर्बभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका हार्डवेयर व्यवसायी सौरभ कुमार बियानीलाई कारागार चलान गरिएको छ।
‘न्यू सौरभ ट्रेडिङ्ग/बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’का प्रोप्राइटर बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढी राजस्व छली गरेको ठहरपछि आन्तरिक राजस्व कार्यालय, विराटनगरको निर्देशनमा उनलाई थुनामा पठाइएको हो।
राजस्व कार्यालयका अनुसार मिति २०८२ साल असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरिएको थियो। कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार उनले कर ऐनअनुसारको दफा उल्लंघन गरेका थिए।
कार्यालयको प्रारम्भिक अनुसन्धानमा बियानीले कर छली गरेको रकम धरौटी, नगद वा अन्य सम्पत्ति मार्फत भरपाई गर्न नसक्दा उनलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३ (घ) अनुसार अर्को आदेश नभएसम्मका लागि मोरङ कारागारमा थुनामा राख्न पत्राचार गरिएको हो।
राजस्व प्रशासनले ठूलो परिमाणको कर छलीलाई गम्भीर अपराधको रूपमा लिँदै अनुसन्धान अघि बढाइरहेको जनाएको छ। यस प्रकरणलाई उदाहरणीय कारबाहीको रूपमा लिँदै अन्य व्यापारीहरूलाई कर प्रणालीप्रति सचेत गराउने उद्देश्यसहित अघि बढिएको अधिकारीहरूको भनाइ छ।