काठमाडौं । पत्रकार दिलभूषण पाठकमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोमा प्राप्त उजुरीको आधारमा सोमबार अदालतमा मुद्दा दायर गरेको हो।
उक्त मुद्दा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम दायर गरिएको हो। अभियोगमा पाठकले विद्युतीय माध्यममार्फत गैरकानुनी रुपमा आपत्तिजनक सामग्री प्रकाशन गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद, वा दुवै सजायको माग गरिएको छ।
परिवर्तित नाममा उजुरी दिने निवेदकले पत्रकार पाठकले आफ्नो फोटोसहित “हिल्टनमा जयवीर देउवाको पैसा” भन्ने शिर्षकमा सामग्री सार्वजनिक गरी घृणा फैलाउने र चरित्र हत्या गर्ने कार्य गरेको आरोप लगाएका छन्। उजुरीमा ‘हिल्टन होटलमा शाही अग्रवाल र दीपक भट्टको लगानी रहेको’ र ‘दीपक भट्टमार्फत जयवीर देउवा सो बिजनेसमा जोडिएको’ भन्ने विवरणसमेत प्रकाशित गरिएको उल्लेख छ।
अभियोगपत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, सफ्टवेयर, फ्लपी डिस्क, टेप ड्राइभ, कम्प्याक्ट डिस्क लगायत उपकरण जफत गर्नसमेत माग गरिएको छ। साथै, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत अभियोगपत्रमार्फत गरिएको छ।
हालसम्म पाठक पक्षबाट यसबारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन। अदालतमा मुद्धा दर्ता भएपछि यस विषयले थप कानुनी बहस र सार्वजनिक चासो ल्याउने सम्भावना देखिएको छ।