सिन्धुपाल्चोक सामूहिक बलात्कारपछि हत्या,आरोपी सार्वजनिक

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया किशोरी निशा तामाङको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा संलग्न पाँच जना युवालाई प्रहरीले सार्वजनिक गरेको छ।

गत असार ११ गते जंगलमा मृत भेटिएकी किशोरीको घटनाबारे अनुसन्धान गर्दा उनीमाथि बलात्कारपछि हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

पक्राउ परेका आरोपितहरूमा भोटेकोसी–५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो। अनुसन्धानको क्रममा आरोपितहरूले असार १० गते निशामाथि बलात्कार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले रातोपाटीलाई जानकारी दिँदै भने, “असार १० गते बलात्कारपछि हत्या भएको र असार ११ मा शव फेला परेको छ। पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको छ।”

हाल आरोपितहरूमाथि सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज