काठमाडौँ । नेपाल बार एसोसिएसन (नेवाए) अन्तर्गत महिला समिति गठन गरिएको छ। नेवाएकी वर्तमान उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठको अध्यक्षतामा नवगठित महिला समिति बनेको हो।
नेवाएको संविधान २०४८ को धारा २७क(४) अनुसार, महिला समितिको पदेन अध्यक्ष महिला उपाध्यक्ष रहने व्यवस्था छ। सोहीअनुसार अधिवक्ता श्रेष्ठ अध्यक्ष रहनुभएको समितिमा, नेवाए सदस्य अधिवक्ता शारदा गुरुङ, अधिवक्ता रञ्जिता कार्की, अधिवक्ता इन्दिरा आचार्य पदेन सदस्यका रूपमा रहेका छन्। यस्तै, सदस्य सचिवको रूपमा अधिवक्ता रिकुकुमारी यादव चयन भएकी छन्। देशभरका बार इकाइका सहसचिवहरू पनि पदेन सदस्य रहने भएकाले झापा बार इकाईकी सहसचिव तथा झापा वार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत ‘सिता’ समेत पदेन सदस्य बनेकी छन्।
हाल नेवाएको केन्द्रीय कार्यसमितिमा महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्यहरूमा महिलाहरूको प्रतिनिधित्व भए तापनि अध्यक्ष पदमा भने महिलाको प्रतिनिधित्व अझ हुन सकेको छैन।
नेपालमा पहिलो महिला अधिवक्ताका रूपमा शान्तिदेवी थापा चिनिन्छिन्। कानून व्यवसायी परिषद्, २०८१ को रेकर्ड अनुसार हालसम्म २१ हजार ५४० जनाले अधिवक्ता प्रमाणपत्र प्राप्त गरेका छन्, जसमा ४ हजार १ सय ९७ जना महिला अधिवक्ता रहेका छन्।