काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बालाई २५/२५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले बिहीबार दुई सम्पादकलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
गत असार ८ गते दृष्टि न्यूजमा ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। सो समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटा लगायत पाँच जनाले अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए।
असार ९ गते अदालतले समाचार नहटाइ तीन दिनभित्र उपस्थित भई स्पष्टीकरण दिन आदेश दिएको थियो। उपस्थित भएपछि सम्पादकद्वयलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो।