काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसन (काजिअ बार) को निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै नयाँ मिति र कार्यक्रम सार्वजनिक गरेपछि निर्वाचन प्रक्रियाको पारदर्शितामा गम्भीर प्रश्न उठेका छन्।
निर्वाचन तालिका सार्वजनिक भएपछि काजिअ बारका उपाध्यक्ष पुरुषोत्तम अधिकारीले प्रमुख निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै आपत्ति जनाएका छन्। उनले सोधेका छन्, “काजिअ बार कार्यसमितिका कसकसलाई जानकारी दिएर यो निर्वाचन तालिका संशोधन गरियो प्रमुख निर्वाचन अधिकृतज्यू? संशोधन गर्नुपर्ने कारण के हो?”
निर्वाचन प्रक्रियामा छलफलको अभाव भएको भन्दै उनले निर्वाचन समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। “जसले जे भन्यो, त्यही गर्दै जाने अधिकार तपाईँहरूलाई छैन,” भन्दै उनले समितिको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। साथै, निर्धारित समयमा निर्वाचन हुन नसके त्यसको जिम्मेवारी निर्वाचन समितिले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।
निर्वाचन समितिले निर्वाचन स्थल काजिअ बार परिसरमै हुने उल्लेख गरे पनि नेतृत्व तहमै उठेको असहमति र निर्णय प्रक्रियामा समन्वयको कमीले काजिअ बारको निर्वाचन प्रक्रियामाथि नै विवादको वातावरण सिर्जना गरेको छ।