काठमाडौं । सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत चर्चामा आएकी रमा बस्नेतको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको छ। रमाका पिता बलदेव बस्नेतले छोरीलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सोमबार निवेदन दायर गरेका हुन्।
सो निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइसमेत सम्पन्न भइसकेको छ। सर्वोच्चले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ।
प्रहरीले बस्नेतलाई विद्युतिय कारोवार ऐन उल्लंघन गरेको आरोपमा केही दिनअघि पक्राउ गरेको हो। उनका केही टिकटक भिडियोहरूले सो कानुन उल्लंघन गरेको प्रहरीको भनाइ छ।
“संविधान र कानुनले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै पक्राउ गरिनु गैरकानूनी हो,” बन्दीप्रत्यक्षीकरण निवेदनमा उल्लेख गरिएको छ।