काठमाडौँ । भिजिट भिसाका नाममा देखिएको अनियमितता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सम्भावित शक्तिको दुरुपयोगबारे छानबिन गर्न सरकारले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठनको निर्णय गरेको हो। समितिमा गृह, परराष्ट्र, श्रम तथा पर्यटन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्। समितिलाई तीन महिनाभित्र छानबिन प्रतिवेदन पेश गर्न समय दिइएको छ।
सरकारको निर्णय अनुसार समितिले अध्यागमन प्रक्रियामा भिजिट भिसाको दुरुपयोग कसरी भयो भन्ने विषयमा विस्तृत छानबिन गर्नेछ। विशेषगरी, विमानस्थलमा अध्यागमनमा देखिएको लापरवाही, राजनीतिक संरक्षण, तथा मानव तस्करीसँग जोडिएका आशंकाबारे अध्ययन गरिने जनाइएको छ।
सरकारको यो कदम प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणले उत्पन्न गरेको गतिरोधपछि आएको हो। जेठ ३० गते सत्ता र प्रमुख प्रतिपक्षी दलबीच भएको दुईबुँदे सहमतिअनुसार छानबिन प्रक्रिया अघि बढाइएको हो।