मितेरी सहकारी ठगीको अभियोगमा फरार अभियुक्त भण्डारी कम्बोडियाबाट नेपाल फिर्ता

काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारीमा करोडौं रकम अपचलन गरेको अभियोगमा फरार रहेका ज्योति बहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ। नेपाल प्रहरीका अनुसार भण्डारीलाई बुधबार राति करिब १० बजे काठमाडौं ल्याइएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार भण्डारीमाथि सहकारीको करिब ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको गम्भीर आरोप छ। अनुसन्धानका क्रममा उनले “क्रिप्टो” लगानीको नाममा ठूलो रकम निकालेको तथ्य खुलेको प्रहरी स्रोत बताउँछ।

यस प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङसमेत संलग्न रहेको आरोप लागेपछि दुबैविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो। गुरूङमाथि झन्डै ६ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ।

रेड कर्नर नोटिस जारी भएपछि कम्बोडियामा फरार रहेका भण्डारीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि नेपाल प्रहरीको टोली उनलाई लिन गएर कानुनी प्रक्रिया पूरा गरी नेपाल फिर्ता ल्याएको हो।

अब उनलाई सिआइबीको जिम्मा लगाइ थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइने प्रहरी स्रोतले जनाएको छ। सहकारी ठगीको यो प्रकरणमा भण्डारी प्रमुख योजनाकार मानिएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज