काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनको निर्णयविरुद्ध न्याय खोज्दै उच्च अदालत पाटन पुगेका छन्। उनले जेठ २५ गते पाटनमा रिट दायर गरेका थिए।
पाण्डेले महानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाउँदै रिट हालेका हुन्। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले दुबै पक्षलाई बुधबार (असार ४) छलफलका लागि उपस्थित हुन भनेको छ।
उक्त छलफलपछि अदालतले पाण्डेको मागअनुसार अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्नेछ।
काठमाडौं महानगरका प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए। सो निर्णयको जड भने चैत २१ गतेको घटनासँग जोडिएको छ, जहाँ गुरागाईं कार्यालय जाँदा महानगर प्रहरी कार्यालयमा हुलहुज्जत भएको बताइएको थियो।
त्यसपछि जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। सोही आधारमा जेठ २० मा निलम्बन गरिएको हो।